कैलाली । जब जब बाढी पहिरो लगायत विभिन्न विपत्ति आइ लाग्छ । सब भन्दा बढी पीडित हुने गर्छन गर्भवति तथा सुत्केरी महिला, बाल बच्चा, वृद्धवृद्धा र आपाङ्गगता भएका व्यक्ति ।
अविरल वर्षाले कैलालीमा यहि असोज १ गते आएको बाढीले कैलालीका विभिन्न क्षेत्रमा जलमग्न हुन पुग्यो । बाढीले घरबार नै डुबान परेपछि प्रभावितहरुले हुलाकी सडकमा विस्थापित हुन पुगे । त्यही बाढीले गर्भवति तथा सुत्केरी महिला, बाल बच्चा, वृद्धवृद्धा र आपाङ्गगता भएका व्यक्ति पनि बढी प्रभावित हुन पुगे ।
बाढीले प्रभावित भएका गर्भवति तथा सुत्केरी महिलाहरुका समस्यालाई मध्यनजर गर्दै ओरेक कैलालीले भजनी र कैलारी गाउँपालिकामा सुरक्षित आवासको रुपमा स्नेह केन्द्र स्थापना गरेको छ । बाढी प्रभावित ८५ जना गर्भवती, सुत्केरी तथा बालबालिकाहरु भजनीको स्नेह केन्द्रमा बस्दै आएका थिए ।
केन्द्रमा पाँच जना गर्भवती, ३९ जना सुत्केरी र ४१ जना बालबालिका गरी ९५ जना असोज ५ गतेदेखि बसिरहेका थिए । अहिले उनीहरु दशैंमा आफ्ना परिवारसंग खुशियाली बाँड्न आज आ–आफ्नो घर गईरहेको ओरेक कैलालीकी कार्यक्रम संयोजक गिता चौधरीले जानकारी दिईन् ।
उनका अनुसार बाढी प्रभावित सुत्केरी, गर्भवति तथा बालबालिकाहरुले धेरै दिन पछि आफ्नो घर जान पाउँदा अनुहारमा खुशी छाएको छ । बाढी प्रभावितहरु परिवार मिलन हुदा खुशी त देखिन्छन्, त्यो संगै दशैमा के खाने के लाउँने भन्ने चिन्ताले पिरोली रहेको छ ।
भजनी–८, गौरचौराका राज कुमारी चौधरी २ वर्षका बच्चा लिएर स्नेह गृहमा बस्दै आएकी छिन् । बाढीले उनको घर भत्किएको छ, खाद्यन्न सबै बगाएको छ । घरमा खानालाई अन्न छैन जुन कारण परिवार मिलनको खुशीसंगै पीडाबोध भईरहेको सुनाईन् ।
उनको घरमा १२ वर्षिया छोरी र श्रीमान छन् । श्रीमान रक्सी खाएर बेला बेला दुख दिने गरेको सुनाउदै राजकमारीले भनिन् ‘राम्रोसंग काम मात्रै गरिदिए पनि हामी खुशी हुन्थ्यो । यहाँ बस्दा निकै आनन्द थियो, घरमा छोरी पनि भएकोले जानैपर्छ । दशैंमा सुखदुख संगै बसौला ।’
भजनी–८, की पुष्पा राजी नौ महिनाकी गर्भवती छिन् । बाढीले घर डुबानमा परेपछि उनी ज्यान जोगाउन घर छाडेर उच्च स्थानमा पुगिन् । सुत्केरी हुने समय नजिकिँदै गरेकी पुष्पालाई सडकमा बस्न निकै गाह्रो भएकोले उनलाई स्थानीयवासीको सहयोगमा स्नेह केन्द्र पुर्याएको थियो ।
स्नेह केन्द्रले उनलाई तनावमुक्त बनायो । कतै सडकमै ब्यथा लागे के गरौँला भन्ने डर मनबाट हटेपछि उनी ढुक्क भएर एक हप्ता घर छोड्न सकिन् । स्नेह केन्द्रकोलागि नगरपालिकाले एम्बुलेन्स पनि तयारी अवस्थामा राखेकोले ब्यथा लागिहाले पनि स्वास्थ्य उपचारमा समस्या नहुने नगरप्रमुख केवल चौधरी बताउँछन् ।
सुनिता राजी पनि बाढी आएपछि बच्चासहित स्नेह केन्द्रमा बस्दै आएका थिईन् । बाढीको त्रासमा ज्यान बचाउन बच्चासहित घर छाडेका महिलालाई यसरी सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउनु सराहनीय काम रहेको उनी बताउँछिन् । बाढीले घरका भित्ता ढल्न थालेपछि एक वर्षको बच्चा बोकेर उनी स्नेह केन्द्र पुगेकी थिईन् । अहिले उनको श्रीमानले घरको भित्ता मा बार हालिसकेको हुँदा लिपपोतकोलागि घर जानैपर्ने उनी बताउछिन् ।
भजनी नगरपालिका–३ का राजरानी चौधरी बाढी आएपछि डेढ वर्षको बच्चा बोकेर हुलाकी सडकमा आश्रय लिन गइन । बाढीले घर डुबानमा परेर केही सामान नबचेपछि राजरानीलाई निकै तानव भयो । तीन दिनसम्म हुलाकी सडकमा बसेपछि वडाध्यक्षको सहयोगमा उनी पनि स्नेह केन्द्रमा बच्चासहित आइन ।
‘निकै तनाव थियो, स्नेह केन्द्रमा आएपछि ढुक्क भयो, बच्चाले राम्ररी खान पाएको थिएन, यहाँ आएपछि बच्चा र मैले पेटभरि खान पायौ ।’ यहाँको वातावरण रमाइलो छ । सबै हामीजस्तै समस्या झेलेकाहरु छन् एकअर्कामा कुराकानी गर्दा तनाव कम हुने रजनी बताउँछिन् ।
वडा नं ३ कै कोपिला चौधरी पनि डेढ वर्षको बच्चासहित स्नेह केन्द्रमा बसिरहेकी बसिन् । तीन दिन विद्यालयमा बसेपछि यहाँ आएकी कोपिलालाई स्नेह केन्द्रको मनोसामाजिक परामर्शपछि समान्य अवस्थामा ल्यायो । उनले भनिन् ‘तनाव व्यवस्थापन कसरी गर्ने, हिंसा भएमा के गर्ने भन्ने बारेको जानकारी पाएँ । घर फर्केपछि परिवारका सदस्यसंग घर मर्मत सहयोग गर्नेछु ।’
स्नेह केन्द्रमा महिलालाई विपद्पछि हुनसक्ने हिंसा, हिंसा भएमा के गर्ने, एकअर्कालाई कसरी सघाउने, तनाव व्यवस्थापन गर्ने तरिकाबारे जानकारी गराईन्छ । विपद्का समयमा महिला तथा बालबालिकाको सुरक्षाका लागि गरिएको यो काम सराहनीय रहेको बाढी प्रभावितहरुको भनाई छ ।
स्नेह केन्द्रमा खानपान, रहनसहन, सरसफाइ लगायत आवश्यक सबै व्यवस्था मिलाइएको थियो । यसका साथै विपद्का समयमा हुनसक्ने मनोसमस्यालाई केन्द्रीत गरि उपचार गर्ने, मनोसामाजिक परामर्श दिने लगायतको सेवाहरु स्नेह केन्द्रले दिदै आएको थियो ।
कार्यक्रम संयोजक चौधरीका अनुसार ‘विपद्का समयमा महिला तथा बालबालिका बढी जोखिममा हुन्छन्, त्यसैले हामीले नगरपालिकाको वडा नं १ मा रहेको सेल्टरलाई प्रयोगमा ल्यायौ । बाढीपछि घरमा बस्ने वातावरण नभएका महिला बालबालिकासहित यहाँ व्यवस्था मिलाएको थियो ।’
अहिले घरमा पसेको पानी सुकिसकेकोले फर्कने वातावरण बनेको हो । यदि दशैपछि पनि उनीहरुलाई घरमा बस्न गाह्रो भयो भने स्नेह केन्द्रले सेवा दिने बताईएको छ । स्नेह केन्द्रमा खाने–बस्ने लगायतको आवश्यक सामानको व्यवस्थापनको लागि विभिन्न संघ संस्थाले सहयोग गरेको छ ।