धनगढी । नेपाली काग्रेंसका महासमिति सदस्य क्षितिज भण्डारीले आफू कैलाली क्षेत्र नम्बर ५ को एकल उम्मेदवार बताएका छन् ।
शुक्रबार धनगढीमा पत्रकार सम्मेलन मार्फत भण्डारीले क्षेत्र नम्बर ५ का लागि सिफारिश भएकी डा. आरजु राणा देउवाले समानुपातिक रोजेपछि आफू एकल उमेदवारका रुपमा रहेका बताएका हुन् ।
‘प्रतिनिधीसभाका लागि कैलाली क्षेत्र नम्बर ५ बाट हामी दुई जना मात्रै उम्मेदवारी पेस गरेका थियो’, उनले भने–‘राणाले समानुपातिक रोजेपछि म नै क्षेत्र नम्बर ५ को निर्विकल्प उम्मेदवार हुँ ।’
उनले अगाडी भने–‘पार्टीमा अरु कसैको दाबी नै थिएन, त्यस कारण म एकल उम्मेदवार भएको छु, म काठमाण्डौँ नेताका घरमा होइन, जनताका घरघरमा गइरहेको छु, मत मागिरहेको छु ।’
महासमिति सदस्य भण्डारीले धनगढीलाई क्षेत्रियता र जातियताको मैदान बनाएको बताउँदै उनले धनगढीलाई साझा धनगढी बनाउने बताए ।
‘धनगढीलाई धनगढी नबनाएर क्षेत्रियता र जातियताको मैदान बनाएका छन’्, उनले भने–‘यसलाई चिरेर हामी धनगढीका हौँ भन्ने आभास दिलाउनेछु ।’
यसै बिच उनले चुनावी घोषणा पत्र पनि सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेका घोषणापत्रमा धनगढीलाई समृद्ध र विकशित महानगरपालिका बनाउने, शिक्षा, स्वास्थ्य, औषधी उपचार लगायतका सेवा सुविधा नागरिकहरुका लागि सहज पहुँच गर्ने, धनगढी विनानस्थल र गौरीफन्टा नाकाको स्तरोन्नती, शैक्षिक वेरोजगार युवालाई बेरोजगार भत्ता लगाययत रहेको छ ।