२० मंसिर २०८१, बिहीबार December 5, 2024

बाढी पहिरो प्रभावितको उद्धार र राहतमा खटिन मन्त्री रावलको निर्देशन

१ आश्विन २०७९, शनिबार
बाढी पहिरो प्रभावितको उद्धार र राहतमा खटिन मन्त्री रावलको निर्देशन

धनगढी । सदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले बाढीपहिरो प्रभावित जिल्लाका सुरक्षा प्रमुखलाई तत्काल उद्धारमा खटिन निर्देशन दिएका छन् ।

शनिबार अछाम, कैलाली र कञ्चनपुरमा बाढीपहिरोबाट क्षति भएकाले उद्धारमा खटिन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई फोन गरी निर्देशन दिएको उनले बताए ।
उनले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर विभिन्न ठाउँमा गए राति गएको पहिरोमा परी ज्यान गुमाएका, बेपत्ता तथा घाइतेको उद्धार तथा उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
यस्तै, कैलाली र कञ्चनपुरका सुरक्षा संयन्त्रलाई टेलिफोन सम्पर्क गरी उद्धारकार्यमा खटिन निर्देशन दिएको मन्त्री रावलले जानकारी दिए ।
“मैले आफ्ना मातहतका सबै निकायलाई मुभ गराइसकेको छु,” मन्त्री रावलले भने, “घटनका बारेमा पनि आफैँ प्रत्यक्ष फोन गरी बुझ्दै छु ।”
शुक्रबार राति अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । कैलाली र कञ्चनपुरका विभिन्न भागमा डुबान भएको छ ।