१० चैत्र २०८१, सोमबार March 24, 2025

कैलालीमा १२४ जनामा डेंगु संक्रमण

२८ भाद्र २०७९, मंगलवार
कैलालीमा १२४ जनामा डेंगु संक्रमण

कैलाली । पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप देखिएको छ । गत सावन यता कैलालीमा १२४ जनामा डेंगुको संक्रमण देखिएको छ । जसमध्ये सबभन्दा बढी लम्कीचुहा नगरपालिकामा ६६ जना डेंगुको संक्रमण देखिएको छ ।
त्यैगरी सेती प्रादेशिक अस्पतालमा २१, टीकापुर अस्पताल १३, टीकापर नगरपालिकामा १, घोडाघोडी नगरपालिमा र जानकी गाउँपालिका २÷२, बर्दगोरिया गाउँपालिकामा ३, मोहन्या गाउँपालिकामा १, माया मेटो अस्पताल धनगढीमा ३, मालाखेती अस्पतालमा ७, चौमाला प्रा.स्वामा ४ र मसुरिया स्वास्थ्य चौकीमा १ जना संक्रमित देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
केही दिन अघि उपचारका क्रममा धनगढी उमहानगरपालिका उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया महिला र टीकापुरकी एक बालिकाको नेपालगंजमा डेंगुका कारण मृत्यु भएको थियो ।


डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन भनिएको छ । संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
डेंगुरोग एडीस एजिप्टी र एडीस एल्बोपिक्टस् प्रजातिका लामखुट्टेहरुको टोकाईबाट सर्छ । यसबाट बच्न लामखुट्टेहरुको टोकाइबाट बच्नु पर्ने हुन्छ ।
डेंगु रोग लागेमा एक्कासि ज्वरो आउने, टाउको, मासपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुची नलाग्ने लगायतका लक्षण देखिन सक्छ । यस्ता लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वाथ्यकर्मीहरुले सुझाएका छन् ।


साथै डेंगुको टोकाइबाट जोगिन घरआँगन वरिपरि सरसफाई, पुरा बहुला भएका लुगा लगाउन, झुल भित्र मात्र सुत्ने घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमलाको प्लेट, फूलदानी कुलर आदिको पानी कम्तिमा हप्ताको एक पटक फेर्ने, पानी जम्मा गर्ने भाडाडलाई लामखुट्टे छिर्न नसक्ने गरि छोप्ने, साँझा र विहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टे नटोकोस भनेर विशेष सावधानी अपनाउन सुझाएका छन् ।