कैलाली । बालबालिकालाई असल संस्कार तथा सभ्य समाज निर्माणका लागि मार्ग निर्देशन गर्न परिवार नै महत्वपूर्ण भूमिका खेल्नु पर्ने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यन्त्री टेकबहादुर रैकाले बताएका छन् ।
सोमबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशमा बालबालिकाका सवाल, नीतिगत व्यवस्था एवं भावि योजना कार्यदिशा विषय प्रदेश स्तरीय कार्यशालामा राज्यमन्त्री रैकाले असल संस्कार तथा सभ्य समाज निर्माण गर्न र सामाजमा रहेका गलत प्रवृतिलाई निरुत्साहन गर्न पनि घर परिवारले भूमिका खेल्नु पर्ने औंल्याए ।
‘बालबालिकालाई विशेषगरि घरपरिवारले नै असल संस्कार र सभ्य समाज निर्माणका लागि गाइड गर्ने हो, समाजमा रहेका असल बोलचाल, भाषा संस्कृतिबारे पनि घरपरिवार नै हो’, राज्यमन्त्री रैकाले भने–‘घरपरिवारले आफ्ना बालबालिकालाई असल संस्कार नसिकाएकै कारण अक्सर बालबालिकाले गलत बाटोमा लाग्ने गरेका छन् ।’
राज्यमन्त्री रैकाले प्रदेश सरकारले नीतिगत रुपमै बालबालिकाहरुका हक अधिकारका विभिन्न कार्यक्रम पनि गरेको बताए । उनले बालबालिबाहरुका लागि शिक्षा, स्वास्थ्य लगायत क्षमता अभिवृद्धि तथा आत्मरक्षाका तालिम पनि प्रदेश सरकारले सञ्चालन गरेको बताए ।
यसका साथै राज्यमन्त्री रैकाले बालबालिकाहरुका हक अधिकारका लागि प्रदेश सरकार, स्थानीय सरकार र बालबालिबाहरुका क्षेत्रमा काम गर्ने संघसंस्था एकजुट भएर लाग्नु पर्ने औंल्याए ।
प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री पूर्णा जोशीले बालबालिकाहरुको कुरा सुन्ने तथा बालबालिकाहरुलाई निर्णय प्रक्रियामा सहभागिता गराउनु पर्ने बताइन् ।
प्रदेश सभा सदस्य दिल्लीराज पन्तले घरपरिवार देखि स्कूल लगायत सबै क्षेत्र बालमैत्री हुनु पर्नेमा जोड दिए ।
गौरीगंगा नगरपालिकाका नगरप्रमुख देवीदत्त कडेलले भौतिक पूर्वाधारमा मात्रै लगानी नगरि बालबालिकाहरुको मानसिक तथा शारीरिक विकासमा लगानी गर्नुपर्ने बताए ।
इन्सेकका खडकराज जोशीले बालमैत्री नीति निर्माण गरि बालबालिकाहरुका हकअधिकारका लागि प्रदेश सरकार र स्थानीय सरकारले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए ।
यसै बिच सुदूरपश्चिममा बालअधिकार तथा बाल संरक्षणमा प्रभावकारी कार्य गरी अवस्थामा सुधार ल्याउन सरोकारवालाहरुले १४ बुँदे प्रतिवद्धता जनाएका छन् ।
प्रदेश र स्थानीय सरकारद्धारा बाल संरक्षणका लागि अत्यावश्यक तथा समय सापेक्षित नीति तथा योजनामा प्राथमिकता, अन्य कानुन र आवश्यक निर्देशिकाहरु यथासक्य निर्माण गरी प्रभावकारी कार्यान्वयनमा जोड, स्थानीयस्तरमा बालबालिकाको यथार्थ अवस्थाको अध्ययन, अनुसन्धान, अनुगमन, खोज तथा घटना अध्ययन तथा ब्यवस्थापन प्रकृयालाई थप प्रभावकारी र नियमित गर्ने, स्थानीयस्तरमा गठित बालक्लवहरुको सुदृढिकरण गर्न तथा गठन नभएका ठाउँमा बालक्लव गठन गरेर सक्रिय बनाउने, जोखिममा रहेका बालवालिकाहरुको पहिचान तथा उनीहरु लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्नुुपर्नेमा रहेको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालके सहकार्यमा भएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष योगेश रावलको अध्यक्षता भएको थियो भने सञ्चालन महासचिव रामसिंह ठगुन्नाले गरेका थिए ।
कार्यक्रममा स्थानीय तहका प्रमुख, पत्रकार, बालबालिकाहरुको हकअधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाका पदाधिकारी, पत्रकारहरुको सहभागिता रहेको थियो ।