८ बैशाख २०८१, शनिबार April 20, 2024

सिट बाँडफाँटको टुंगो भोलिसम्म लाग्छ : प्रचण्ड

२१ भाद्र २०७९, मंगलवार
सिट बाँडफाँटको टुंगो भोलिसम्म लाग्छ : प्रचण्ड

धनगढी,२१ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको टुंगो बुधबारसम्म लाग्ने बताएका छन् । मंगलबार साँझसम्म कार्यदल स्तरबाट सहमतिको प्रयास भइरहेको र बुधबार शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाइने उनको भनाइ थियो ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी कैलालीमा पार्टी कार्यक्रमका लागि पुगेका दाहालले विमानस्थलमा भने, ’कांग्रेसले चर्चा गरिरहेको जस्तो १०० सिट भन्नुभएको छ । पछि ८० को वरिपरी आउने सम्भावना बढ्दो छ । हामीले ६० भनेका छौं । त्यसको वरिपरी मिलाउने हो । एकीकृत समाजवादी २५ र जसपा २५ दाबी गरिराखेको स्थिति छ । यसैलाई आधार बनाएर सबै पार्टीका प्रतिनिधि बसेर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रसम्म बसेर टुंगो लगाउने, मिलेको जति मिलाउने र त्यसपछि शीर्ष तहमा बसेर टुंगो लगाउने कुरा भएको छ ।’
संघीय र प्रदेशका सबै निर्वाचन क्षेत्रको टुंगो शीर्ष तहबाट नै लगाउने गरी काम भइरहेको दाहालले जानकारी दिए । ’निर्वाचनको सन्दर्भमा गठबन्धनमा हामीले सिटसंख्या क्षेत्र र प्रदेश एकैपटक टुंग्याउने भनेर सबै पार्टीका प्रतिनिधिलाई आज बेलुकासम्मको समय दिइएको छ । भोलि शीर्ष नेताहरूको बैठकबाट टुंगो लगाउने कुरा भएको छ,’ उनले भने ।
सबै पार्टीले गरेका दाबी सुन्ने र पछि शीर्ष तहबाट टुंगो लगाउने दाहालको भनाइ थियो । कांग्रेसमा शेखर कोइराला पक्षले १०० सिट आफ्नो पार्टीलाई हुनुपर्ने माग गरेको छ । यस्तो अवस्थामा दाहालको यस्तो प्रतिक्रिया आएको हो ।
स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र आगामी मंसिर ४ का लागि तोकिएको संघ र प्रदेश निर्वाचन पनि सम्पन्न गर्नुपर्ने दाहालको भनाइ थियो । ’गतवर्ष संविधान मिचिने, च्यातिने हो कि भन्ने खतरा थियो । यो निर्वाचन सम्पन्न भएपछि त्यो खतरा नेपालबाट टरेर जान्छ,’ उनले भने ।

त्यस्तै, प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकाल मनोनयनको अघिल्लो दिनसम्म रहने कुरामा सरकार र सत्तारुढ गठबन्धन स्पष्ट रहेको दाहालको भनाइ थियो । प्रतिनिधिसभामा संसद्को कार्यकाल लम्ब्याउने व्यवस्थासहितको कानुन संशोधन विधेयक ल्याएकोमा दाहालले त्यसो नगरिने बताए । ’संसद्को कार्यकाल एकदिन पनि यताउता गर्नु हुँदैन भन्ने हो । मनोनयनपछि संसद् एक दिन पनि रहँदैन,’ उनले भने ।
प्रमुख सचेतकहरूको सल्लाहमा विधेयक ल्याइएकोमा सरकार र गठबन्धनले त्यसलाई अगाडि नबढाउने निर्णय लिएको उनले जानकारी दिए ।