१० चैत्र २०८१, सोमबार March 24, 2025

गौरीगंगामा पालिका सँग बालबालिका कार्यक्रम

१७ भाद्र २०७९, शुक्रबार
गौरीगंगामा पालिका सँग बालबालिका कार्यक्रम

मसुरिया । गौरीगंगा नगरपालिकामा पालिकासँग बालबालिका कार्यक्रम गरिएको छ । कार्यक्रममा बालबालिकाले नगर उपप्रमुख, वडा अध्यक्ष तथा महिला बालबालिका शाखाका प्रमुखसँग गौरीगंगा १० को वडा कार्यालयमा संवाद गरेका छन् ।
बालबालिकाहरुले लागु औषध प्रयोगको न्यूनीकरण, बाल श्रम निषेध, विपन्न बालबालिकालाई विद्यालय भर्ना तथा पढाई निरन्तरता दिन समस्या रहेको र बालिकाले विद्यालय छोडने गरेको, अभिभावकले बालबालिकाका क्रियाकलापमा ध्यान नदिएको, बालबालिकाको क्षेत्रमा बजेट विनियोजन प्रकृया, बालदिवस, बालिका आत्मरक्षा, बाल मनोपरामर्शका साथै जोखिममा रहेका बालबालिकाको सुरक्षा बारेमा जिज्ञासा राखेका थिए ।
बालबालिकाका जिज्ञासाको जवाफ दिदै गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले बजेट निर्माणमा बालबालिकाको सवालमा गम्भीरता पुर्वक योजना तय गरिएको, लागुऔषध, बालविवाह, बालश्रमलाई राज्यले पनि निषेध गरेको बताउँदै ५ बर्ष भित्र बालमैत्री नगरपालिका बनाउने गरि कार्ययोजना बनाई लागू गरिने बताउनु भएको छ ।
महिला तथा बालबालिका शाखा प्रमुख भावना जोशीले बिगतमा नगरपालिकालाई छाउपडी गोठ मुक्त बनाउन गोठ भत्काउने अभियान संचालन गरिए पनि केही समुदायमा मन देखि हटाउन नसकिएको, लागुऔषध सेवन गर्ने बालबालिकाको संख्यामा वृद्धि भैरहेकोले यसलाई न्यूनीकरण गर्न प्रहरी कार्यालयसंग समन्वय गरेर विद्यालय तथा समुदाय तहमा अभिभावकलाई समेटेर जनचेतनामुलक कार्यक्रम गर्ने, बालिकाको लागि आत्मरक्षा र हिंसा विरुद्धको सचेतना कार्यक्रम संचालन गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्वर १ का वडाध्यक्ष डबल बहादुर दियाकोटीले मोबाइल प्रविधिको गलत प्रयोग र देखासिकीले बालबालिका कुलत, कुसंस्कार र असामाजिक क्रियाकलापमा संलग्न भएको पाइएको उल्लेख गर्दै असल अभिभावकत्वको अभाव रहेको बताएका थिए ।
वडा नम्बर १० का वडाध्यक्ष नरसिंह सार्कीले बालबालिकाको जिज्ञासांको जवाफ दिदै वडामा लागुऔषध, बालविवाह, छाउपडी प्रथा तथा जातिय छुवाछुत न्युनिकरणका सचेतनामूलक कार्यक्रम गर्न बजेटको व्यवस्था गरेको जानकारी दिएका छन् ।
वडा नं १० का अध्यक्ष नरसिंह सार्कीको अध्यक्षतामा गरिएको कार्यक्रममा बाल कल्याण संघ टीकापुरका सामाजिक परिचालक प्रेम चौधरीले कार्यक्रमको उद्देश्य बारे जानकारी दिएका थिए ।
पत्रकार घनश्याम पौडेलले संचालन गरेको कार्यक्रममा बाल कल्याण संघ टीकापुरले छनोट गरेका २५ जना बालबालिकाहरुको सहभागीता रहेको थियो । संवाद कार्यक्रम बाल कल्याण संघ टीकापुर, वल्र्ड भिजन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र आयोजनामा भएको थियो ।