हसुलिया, २ भदौ । कैलारी गाउँपालिका र बहुउद्देश्यीय विकास समाज (MPDS)डडेल्धुराको संयुक्त आयोजनामा थारु समुदायको मौलिक साँस्कृतिक चाड गुरही पर्वको विशेष अवसरमा बृहत साँस्कृतिक रुपमा एकीकृत सामुदायिक कानूनी सचेतना तथा न्याय प्रवद्र्धन कार्यक्रम हसुलियामा सम्पन्न भएको छ ।
कैलारी गाउँपालिकाको समन्वय र UNDP/(A2J)-II को आर्थिक सहयोगमा संचालित संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना (A2J)-II,“कानूनी सहायता, जवाफदेहीता र जनकेन्द्रीत न्यायका लागि महिला तथा सिमान्तकृत समुदायको सशक्तीकरण“ अन्तर्गत पछाडि पारिएका विपन्न वर्ग समुदाय महिला, जनजाति, दलित तथा अन्य सिमान्तकृत समुदायमा साँस्कृतिक रुपमा कानूनी सचेतना तथा जागरण गरी न्यायमा पहुँच पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उक्त बृहत् साँस्कृतिक गुरही कार्यक्रममा विभिन्न वडाका महिला, दलित, जनजाति र विपन्न समुदायले समान अधिकार, न्याय र सेवा सुबिधामा पहुँच, समानता, समान ज्याला, हरेक निकायहरुमा पछाडि पारिएका वर्ग समुदायको समानुपातिक प्रतिनिधित्व लगायतका सवालमा सचेतनामूलक नाटक, सामूहिक गित, नृत्यनाटक, कविता र सन्देशमूलक जिगंलहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रम स्थानीय विभिन्न संस्थाहरु, सहकारी समूह र मिडियाहरुसंग समन्वय एंव सहकार्यमा गरिएको थियोे ।
बृहत् साँस्कृतिक कार्यक्रमको एक भब्य समारोहका बिच कार्यक्रमका प्रमुख अतिथी एंव कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले समुद्घघाटन गरेका थिए ।

कार्यक्रममा पालिका अध्यक्ष चौधरीले यो कार्यक्रमले थारु कला संस्कृति र पहिचान संरक्षणमा टेवा पुग्नुका साथै महिला, दलित र सिमान्तकृत समुदायको हक अधिकार सुनिश्चितता र न्यायमा पहुँच प्रवद्घनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा पालिका उपाध्यक्ष भगवती कुमारी चौधरीले गुरही पर्वमा महिला र सिमान्तकृत समुदायको अधिकार र कानूनी सचेतना सहितको साँस्कृतिक कार्यक्रम उत्कृष्ट एंव नमूना कार्यक्रम भएको बताउदै यसले गाउँ गाउँमा जागरण ल्याउने बताईन् ।
कार्यक्रममा कैलारी गाउँपालिका वडा नं–५ का अध्यक्ष बिष्णु प्रसाद चौधरी, थारु कल्याणकारी सभाका सभापति कृष्ण चौधरी,MPDS कि चन्द्रा शर्मा, राजेन्द्र रैका, लगायत महिला अधिकारकर्मीहरुले मन्तब्य राखेका थिए ।
कार्यक्रम थारु महिला संजालकी अध्यक्ष कृष्णा चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियोे भने संचालन सरिता चौधरीले गरेकी थिइन् । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि, पालिका, वडाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्थानीय विभिन्न संघसंस्था, बरघर भलमन्साहरु, सहकारी, वन समिती लगायतको सहभागीता रहेको थियोे ।