२३ श्रावण २०८३, शनिबार August 8, 2026

प्रदेशस्तरीय सिप तथा रोजगार मेलाको तयारी

२३ श्रावण २०८३, शनिबार
प्रदेशस्तरीय सिप तथा रोजगार मेलाको तयारी

धनगढी, २३ साउन । धनगढी उपमहानगरपालिकाले वार्षिक क्यालेन्डरअनुसार आगामी प्रदेशस्तरीय सिप तथा रोजगार मेला सञ्चालनका लागि तयारी तीव्र पारेको छ। यस वर्ष क्यालेन्डर अनुसार माघ ५ गतेदेखि मेला सुरु गर्ने लक्ष्यसहित आवश्यक पूर्वतयारी अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका अनुसार २०८१ र २०८२ सालमा समेत प्रदेशस्तरीय सिप तथा रोजगार मेला सफलतापूर्वक सञ्चालन गरिएको थियो। २०८१ सालको मेलामा १ हजार ४० जना शिक्षार्थीको सहभागिता रहेको थियो भने २०८२ सालको मेलामा ६ सयभन्दा बढी युवायुवती सहभागी भएका थिए। विगतका मेलाबाट प्राप्त अनुभवलाई आधार बनाएर यस पटकको मेलालाई अझ व्यवस्थित, प्रभावकारी र युवामैत्री बनाउने योजना बनाइएको छ।
तयारीका क्रममा विभिन्न संघसंस्था, रोजगारदाता, तालिम प्रदायक संस्था तथा सरोकारवाला निकायहरूसँग छलफल, समन्वय र सहकार्यलाई तीव्र बनाइएको छ।

सिप तथा रोजगार मेलालाई तालिम दिने–लिने कार्यक्रममा मात्र सीमित नराखी स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणलाई समेत प्राथमिकतामा राखिएको थियो। उपमहानगरपालिकाले निःशुल्क स्टलको व्यवस्था गरी विभिन्न स्थानीय तह तथा संघसंस्थालाई आफ्ना उत्पादन तथा गतिविधि प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो।

डोटीको जोरायल गाउँपालिकालगायत विभिन्न स्थानीय तहको सहभागिताले मेलालाई सिप, रोजगारी, उद्यमशीलता र अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा स्थापित गरेको उपमहानगरपालिकाको भनाइ छ।

आगामी मेलामार्फत श्रम बजारको मागअनुसारका सिप प्रदान गर्दै युवायुवतीलाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको छ। साथै, स्थानीय उत्पादन र उद्यमशीलताको प्रवद्र्धन गर्दै सीपयुक्त जनशक्तिलाई अवसरसँग जोड्ने गरी मेलालाई अझ प्रभावकारी बनाइने तयारी गरिएको छ।

वार्षिक क्यालेन्डरअनुसार निर्धारित समयमै मेला सञ्चालन हुने गरी सम्पूर्ण तयारी अघि बढाइएको उपमहानगरपालिकाले जानकारी दिएको छ।

यसअघि २०८२ सालमा आयोजित मेलामा सुदूरपश्चिम प्रदेशका ८४ स्थानीय तहको सहभागिता रहेको थियो। ७ प्रमुख क्षेत्रअन्तर्गत २२ विधाका सीपमूलक तालिम सञ्चालन गरिएको उक्त कार्यक्रममा सहभागीलाई ३० दिनको सिप विकास तालिमसँगै १० दिन रोजगारीसँग जोडिने व्यावहारिक अभ्यास र उद्यमशीलता तालिम समेत प्रदान गरिएको थियो।