२४ श्रावण २०८३, आईतवार August 9, 2026

शिक्षण अस्पतालका लागि चार अस्पताल प्रयोग हुने

२२ श्रावण २०८३, शुक्रबार
शिक्षण अस्पतालका लागि चार अस्पताल प्रयोग हुने

धनगढी, २२ साउन । सुदूरपश्चिम प्रदेशका चार प्रादेशिक अस्पताल सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल बन्ने भएका छन् । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, लम्की प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले चार वटै अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यस्तै सम्झौतासहित अन्य प्रक्रिया मन्त्रालयले अगाडि बढाउने निर्णय बैठकले गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।

यसैबिच प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा उपयोग गर्ने निर्णयको चौतर्फी विरोध सुरु भएको छ । प्रदेशवासीले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमै तत्काल उपकरणसहितको तीन सय शय्याको अस्पताल सञ्चालन गर्नुपर्ने माग गरिरहेका बेला कामचलाउ सरकारले अन्य अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग गर्ने निर्णयले विश्वविद्यालयको अस्पताललाई उपेक्षा गरेको उनीहरूको जिकिर छ ।

सुदूरपश्चिम प्रदेशवासीको लामो प्रतीक्षापछि सङ्घीय सरकारले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कामचलाउ अस्पताल सञ्चालन गरेको थियो । सकेसम्म चाँडै चिकित्साशास्त्रको अध्ययन÷अध्यापन पनि सञ्चालन गर्ने तयारी गरिँदै छ ।