धनगढी, ६ भदौ । दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा डेढ हजार घरपरिवार प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान भएको छ । मोहना, कटैनी, पथरैया, कान्द्रा, घुरहा लगायतका नदीमा आएको बाढीले करिब पाँच सय बढी घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । डुबानबाट एक हजार सात सयभन्दा बढी परिवार प्रभावित भएको उनले जानकारी दिए ।
कैलारीका बाढी प्रभावितलाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ । ९ वटा वडा रहेको कैलारीको वडा नं. २, ६ ९ बाहेक सबै वडाको अधिकांश क्षेत्र डुबानमा परेको छ । हालसम्म ४८९ घर डुबानमा परेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष राजसमझ चौधरीका अनुसार वडा नं १ को डम्मारा गाउँको १८ घर, हरिनगर चौधरी टोलको ३० घर, हरिनगर शिवटोलको ५ घर, हरिनगर डाँडा टोलको ८ घर, मनाउको १२ घर, विसनपुर र मझराको १५÷१५ घर डुबानमा परेको हो ।
त्यस्तै, वडा नं. ५ को पुरानो मनिकापुरको २९ घर, नयाँ मनिकापुरको १७ घर, बंगालीपुरको ३७ घर, पवेरा मण्डीको २२ घर, बन्दरगौरीको ५४ घर, सपना शिविरको ८ घर, नयाँ बैजपुरको ५ घर र गोबरैला दहितपुरको २ घर डुबान परेको अध्यक्ष चौधरीले बताए । वडा नं. ७ को भुइयाँफाँटाको २६ घर, बसन्ताको २१ घर, छटकपर बसन्ताको १५ घर, नारायणपुरको ८ घर डुबानमा परेको छ ।
वडा न ८ पुथ्वीपरको ३१ घर, दुधियाको २४ घर, भँगााहाको १४, पूर्व टेडीको २ घर डुबानमा परेको छ । वडा नं. ३ सुर्मीनालाको ३४ घर, खोनपुरको २ घर र मुडा १० घर डुबानमा परेको छ । वडा नं. ४ के गाउँको २५ घर डुबानमा परेको अध्यक्ष चौधरीले बताए ।

कैलाली गाउँपालिकाको पचासौँ घरधुरी विस्थापित हुन सक्ने बताइएको छ । धेरैले घर छोड्न नमानेपछि हालसम्म २९ जनालाई मात्रै वडा नं. ५ को वडा कार्यालय सारिएको बताइएको छ ।
पालिका अध्यक्ष चौधरीले भने, ‘हिजैदेखि हामी सूचना जारी गरेका छौँ । सुरक्षित स्थानमा सार्न भनेका छौँ । खानेकुराको व्यवस्थापन पालिकाबाटै गर्ने भनेका छौ । तर प्रभावितहरू घर छोड्न मानिरहनुभएको छैन । उहाँहरूको घरमा बाढीले केही बाँकी राखेको छैन । तर उहाँ माछा मार्दैमा व्यस्त हुनुहुन्छ । घर छोड्न मान्नुभएको छैन ।’
बुधबार मात्रै एक जनालाई बाढीले बगाउँदै गरेको अवस्थामा उद्धार गरिएको थियो । वडा नं. ५ बैसपुरकी ४२ वर्षीय लोकमाया चौधरीलाई बाढीले बगाउँदै गरेको अवस्थामा उद्धार गरिएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

यसै बिच विहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, कैलाली सिमा ससस्त्र प्रहरी प्रमुख दल बहादुर पाण्डेय, खोनपुर ससस्त्र प्रहरी प्रमुख गान्धिप राज स्याङतान, ईलाका प्रहरी हसुलियाका इन्चार्ज लोकेन्द्र चन्द, वडा अध्यक्ष, प्रमुख प्रशासकिय खगेन्द्र जोशी, सुचना अधिकारी यगम कलेल लगायतको टोलीले बाढी प्रभावितहरुको समस्या बुझेका थिए ।