७ फाल्गुन २०८१, बुधबार February 19, 2025

विरोधका बिच प्रदेश निजामती ऐन संशोधन विधेयक पारित

४ भाद्र २०८१, मंगलवार
विरोधका बिच प्रदेश निजामती ऐन संशोधन विधेयक पारित

धनगढी, ४ भदौ । विरोधका बिच प्रदेशको निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न ल्याएको विधेयक पारित गरिएको छ ।
सडकमा सरोकारवाला समुदायको विरोध र सुदूरपश्चिम प्रदेश सभामा सांसदहरूको विरोधका बिच उक्त विधेयक पारित गरिएको हो । मंगलबार सुदूरपश्चिमका थारु÷राना थारु समुदायले आफूहरूको जनसंख्याको आधारमा समावेशी आरक्षण कोटा निर्माण गरिनुपर्ने भन्दै प्रदेश सभाको मूल गेटमै धर्ना दिएका थिए । थारु कल्याणकारिणीय सभा, रानाथारु समाज, थरुहट थारुवान राष्ट्रिय मोर्चालगायतले आह्वान गरेको सो धर्नालाई मुख्यमन्त्री कमलबहादुर शाहले सम्बोधन गरेका थिए ।
उनले आफू समावेशी सिद्धान्त र निर्धारण गरिएको कोटाप्रति संवेदनशिल रहेको बताउँदै संसदमा टेबल भएको ऐन संशोधन विधेयकमा थारु/रानाथारु समुदायको माग सम्बोधनको लागि प्रतिबद्ध रहेको बताएका थिए । माग सम्बोधनको लागि समिति बनाएर काम गर्ने मुख्यमन्त्री शाहले आश्वासन समेत दिएका थिए ।


उता प्रदेश सभामा सांसदहरु नाराबाजीसहित विरोध जनाएका थिए । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले दफावार छलफलको लागि पेस गरेको प्रस्तावमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले विरोध जनाएका थिए । नेकपा एमालेका सांसद चक्र मल्ल र काँग्रेसकी सांसद तुलसा देवकोटाले प्रस्तावको पक्षमा बोलेका थिए ।
तर सांसदहरूको नाराबाजीका बिच सभामुख भीमबहादुर भण्डारी ऐन संशोधन गर्न बनेको विधेयक पारित भएको घोषणा गरेका थिए ।
यसैबिच प्रदेश सभामा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । नागरिक उन्मुक्ति पार्टीका सांसदहरू नाराबाजीसहित रोष्टम घेराउ गर्न पुग्दा मर्यादा पालकहरूले रोकेका थिए ।
थारू र राना थारु जनसङ्ख्याको आधारमा सम्बन्धित विधेयकमा न्यूनतम १८ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने, महिलाको लागि आरक्षित ३३ प्रतिशत स्थानमा १८ प्रतिशत थारू र राना थारु महिलाको समावेशी सुनिश्चित गरिनु पर्ने र थारु समुदायलाई प्रदेश स्तरीय क्लस्टरमा मान्यता दिनुपर्ने माग राख्दै आएको छ ।