१० चैत्र २०८१, सोमबार March 24, 2025

थारू समुदायमा आज गुरही पर्व, धनगढीमा सामूहिक रुपमा मनाउँदै

२५ श्रावण २०८१, शुक्रबार
थारू समुदायमा आज गुरही पर्व, धनगढीमा सामूहिक रुपमा मनाउँदै

धनगढी, २५ श्रावण । पश्चिमवासी थारू समुदायमा आज गुरही पर्व मनाइँदै छ ।
हरेक थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्व हरेक वर्ष नागपञ्चमीको दिन मनाइँदै आएको छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउने गरिएको छ ।
यता धनगढीमा २०६७ सालदेखि गुरही पर्वलाई संस्थागत रूपमा मनाउँदै आएको छ । यस वर्ष पनि धनगढीको गुहरी चौकमा सामूहिक गुरही मनाउने सखी सञ्जाल कैलालीका कार्यवाहक अध्यक्ष उन्नति चौधरीले बताइन् । उनका अनुसार गुरही पर्वलाई प्रर्वद्धन र संरक्षण गर्न, नयाँ पुस्तालाई संस्कृति बारे जानकारी तथा हस्तान्तरण गर्न, आपसी सद्भाव, गुरही बारे अन्य समुदायलाई जानकारी गराउने उद्देश्य सहित भब्यताका साथ मनाउने बताइन् ।
गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ ।
बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने/पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।
गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।
थारु समुदायको गुरही, कठरिया थारु समुदायको पचइया पर्वको अवसर पारेर कैलालीका विभिन्न स्थानीय तहले आज स्थानीय सार्वजनिक बिदा दिएका छन् ।