१ जेष्ठ २०८२, बुधबार May 14, 2025

गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाद्वारा सार्वजनिक बिदा

२४ श्रावण २०८१, बिहीबार
गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाद्वारा सार्वजनिक बिदा

धनगढी, २४ श्रावण । गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ । थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो । गुरही पर्व यो वर्ष श्रावण २५ गते शुक्रबारको दिन परेको छ । पश्चिमवासी थारू समुदायले हरेक वर्ष नागपञ्चमीको दिन मनाइँदै आएका छन् ।


बुधबार गुरही पर्वको तयारी बारे जानकारी दिन धनगढीमा आयोजित पत्रकार सम्मेलन मार्फत थारु समुदाय सम्बद्ध संघसंस्था तथा संगठनले आफ्नो गुरही पर्वको अवसरमा सार्वजनिक बिदा माग गरेका थिए ।
सखी सञ्जाल धनगढी, थारु कल्याणकारिणी सभा नगर कमिटी, राष्ट्रिय थारु कलाकार मञ्च, थारु महिला सभा, थारु महिला सञ्जाल, थारु नागरिक समाज, बातचित घर, थारु विद्यार्थी समाज लगायतका संघसंस्थाले सार्वजनिक बिदा माग गरेका हुन । सो समुदायले श्रावण २५ गते भोलि गुरही पर्व मनाउने जनाइएको छ ।


पर्वको अवसरमा थारु समुदायको बसोबास रहेको जिल्लामा प्रदेश र स्थानीय सरकारले सार्वजनिक बिदा दिनु पर्ने थारु कल्याणकारिणी सभा कैलालीका पूर्व उपसभापति माधव थारुले बताए । कैलाली, कञ्चनपुरमा बसोबास रहेको थारु समुदायका मानिसले गुरही पर्व मनाउने गरेका छन् । यस पर्वलाई बाल पर्वको रुपमा लिइने गरिन्छ ।
पर्वको अवसरमा धनगढीस्थित गुरही चौकमा हरेक वर्षझैं यसवर्ष पनि गुरही असरैना कार्यक्रमको आयोजना गरिने पत्रकार सम्मेलन गरी जनाइएको छ । गुरही पर्वमा कपडाको गुरही (गाइने किरा) बनाएर गाउँभन्दा दक्षिण रहेको चौकमा सेलाएर लट्ठी वा सोंताले ठटाउने, पिट्ने चलन रहेको जनाइएको छ । त्यसपछि गुरहीसंग ल्याइएको भुजा तथा गेडागुडी बाँडेर खाने चलन रहेको छ ।
गुरही पर्वमा गुरही सेलाउने कार्य पूरा गरेमा बालबालिकामा रोगव्याधी नलाग्ने र लागेको भए निको हुने गरेको जनविश्वास रहेको थारु अगुवा ठाकुर करिया प्रधानले बताए । खेतीपातीको कामपछि थारु समुदायको यो पहिलो पर्व रहेको जनाउँदै उनले संस्कृति संरक्षण र युवा पुस्तालाई हस्तान्तरणका लागि धनगढीमा विगत अढाई दशकदेखि सामूहिक रुपमा गुरही असरैना कार्यक्रम गर्दै आएको जानकारी दिए ।
धनगढीमा भोलि अपराह्न ३ बजे गुरही सेलाएर त्यसपछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिने जनाइएको छ । कार्यक्रममा हजारौंको सङ्ख्या सहभागिता रहने आयोजक पक्षले जानकारी दिएको छ ।