२६ आश्विन २०८१, शनिबार October 12, 2024

स्वर्गीय पत्रकार जेपी जोशीकी छोरी पूजालाई एक्सिसले निःशुल्क पढाउने

१३ भाद्र २०७८, आईतवार
स्वर्गीय पत्रकार जेपी जोशीकी छोरी पूजालाई एक्सिसले निःशुल्क पढाउने

धनगढी । स्वर्गीय पत्रकार जेपी जोशीकी छोरी पूजा जोशीलाई एक्सिस विद्याश्रमले निःशुल्क पढाउने भएको छ ।
अज्ञात समूहद्वारा १४ वर्ष अघि मारिएका पत्रकार जोशीकी छोरी पूजालाई विद्याश्रमले आइतबार निः शुल्क पढाउने घोषणा गरेको हो । यसै वर्ष ३.५ जिपिए ल्याएर एसीइ पास गरेकी जोशी एक्सिसमा कानून संकायमा पढ्ने भएकी छन् । आफू जस्तै अन्यायमा परेकाहरुका पक्षमा लड्न आफूले कानून विषय पढ्ने बताएकी हुन् । उनले भनिन्–‘म र मेरो परिवारले जस्तै अन्याय भोग्नु नपरोस त्यस्ता असाहय परिवारलाई साथ दिन सकु त्यसैले कानून विषय छाने ।’
एक्सिसका सञ्चालक अनिता पन्तले अभिभावक विहिन, विपन्न र जेहेन्दारलाई पढाउदै आएको बताइन् । नेपाल पत्रकार महासंघको आग्रहमा पूजालाई पनि पढाउने उनले बताइन् । सञ्चालक पन्तका अनुसार अहिले कानून पढ्नेको संख्या बढेको छ । पन्तले भनिन्–‘कानून पढ्दा आत्मवल बढने विश्वास विद्यार्थीमा छ ।’ पन्तले आफ्नै छोरीलाई पनि एक्सिसमा नै कानून पढाइरहेकी छन् ।


पूजालाई कक्षा ११ र १२ पढ्न झण्डै एक लाख खर्च हुने स्थिति थियो । उनले कानून नै पढ्ने भनेपछि हामीले एक्सिसलाई आग्रह गरेर निशुल्क पढाउने व्यवस्था गरेका पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहले बताए । एक्सिसले नै धनगढीबाट झण्डै २० किलोमिटर टाढा रहेको जोशीको घर मालाखेतीबाटै ल्याउने र लैजाने व्यवस्था गर्ने भएको छ ।
सो अवसरमा महासंघका केन्द्रीय सचिव हेमकर्ण विक र जिल्ला अध्यक्ष हिमालय जोशीले पूजालाई निःशुल्क रुपमा पढ्ने व्यवस्था गरेकोमा आभार व्यक्त गरे । सो अवसरमा धनगढीका सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
आर्थिकरुपमा विपन्न स्वर्गीय पत्रकार जेपीका दुई छोरीहरुलाई पत्रकार महासंघले नै विभिन्न निकायलाई आग्रह गरेर निःशुल्क रुपमा पठनपाठन गराइरहेको छ ।
स्वर्गीय जोशीकी अर्की छोरी गीता जोशीलाई अत्तरिया स्थित एभरेष्ट बोर्डिङ स्कुलले निःशुल्क पढाउने व्यवस्था गरेको प्रिन्सिपल स्माइल चौधरीले बताए ।
जनादेश साप्ताहिक र जनदिशा दैनिकमा कार्यरत जोशी २०६५ असोज २२ गते अत्तरिया बजारबाटै बेपत्ता भएका थिए। बेपत्ता भएको दुई महिनापछि ०६५ मंसिर १३ गते घरनजिकैको चौकीडाँडा महिला सामुदायिक वन उपभोक्ता समितिको जंगलमा कंकाल र हड्डी भेटिएको थियो । कंकालसँगै मोबाइल तथा परिचयपत्र भेटिएपछि उनको पहिचान भएको थियो ।
घटनाको छानबिन गर्न तत्कालीन सरकारले अधिवक्ता उमेश गौतमको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेको थियो । समितिले पत्रकार जोशीको हत्या भएको स्वीकार गरे पनि अहिलेसम्म दोषीलाई कानुनी दायरामा ल्याइएको छैन । समितिले २०६६ सालमा अध्ययन प्रतिवेदन सरकारलाई बुझाए पनि हालसम्म औपचारिक रूपमा सार्वजनिक पनि गरिएको छैन ।