२२ भाद्र २०८१, शनिबार September 7, 2024

कटैनी नदिको बाढीले छटकपुर बसन्ता गाउँ जलमग्न

११ भाद्र २०७८, शुक्रबार
कटैनी नदिको बाढीले छटकपुर बसन्ता गाउँ जलमग्न

धनगढी । कैलाली जिल्लामा अविरल वर्षापछि आएको बाढीले १ घर बगाएको छ भने बाढीमा फसेका २ जनाको मध्यराति उद्धार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैैलालीका अनुसार गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा बाढी आउँदा काठे पुल, दुर्गा मन्दिरस्थित ४२ वर्षीय गणेशदत्त पाण्डेको इँटाले बनेको टिन छाएको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ ।


जिल्लाको शिवगंगा नदी र झिलखोलाबीच भागमा फसेका २ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । गौरीगंगा नगरपालिका–३ कुचैनी बस्ने राजाराम सापकोटा र उनकी बहिनी आरती सापकोटाको उद्धार गरिएको छ। घाँस काट्न जाँदा बाढीमा फसेका उनीहरूलाई मध्यराति नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको छ ।
त्यस्तै कैलारी गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्ता गाउँमा कटैनी नदिमा आएको बाढी पसेको छ । नदिमा आएको बाढी ३० बढी घरमा पसेको स्थानीय जीया चौधरीले जानकारी दिए । त्यस्तै कटैनी नदिको बाढी वडा नम्बर ७ अन्र्तगत बर्का बसन्ता, भुँइयाँफाँटा र रामपुर गाउँमा पनि पसेको स्थानीयले बताएका छन् ।

यस्तै बाढीले जोशीपुर गाउँपालिका वडा नम्बर ३ को फाडिया, भिटरिया गाउँ पनि डुबानमा परेको पत्रकार सुधराम दहितले बताए । जानकी गाउँपालिकाको वडा नम्बर ४ र ७ मा पनि बाढी पसेको जनाइएको छ । बाढीले गाउँपालिकाको वडा नम्बर ४ को ८० घर वडा नमबर ७ मा ५८ घर डुबानमा परेको पत्रकार नेत्रप्रसाद न्योपानेले बताए ।