काठमाण्डौं । काठमाण्डौंको माइतीघर मण्डलामा भईरहेको थरूहट आन्दोलनमा नाटक मार्फत थारू समुदाय आफ्नो हक अधिकार र न्याय खोजिएको थियो ।
कैलालीको टीकापुरमा थरुहट, थारुवान आन्दोलन भएको ६ वर्ष पुगेको अवसरमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा माइतीघरमा भइरहेको आन्दोलनमा नाटक मार्फत हक अधिकार र न्यायको खोजी र शोषक सामान्तहरुबाट थारू समुदाय माथि हुने अन्याय अत्याचार र उनीहरुको चरित्र देखाउन खोजिएको थियो । त्यस्तै विभिन्न षडयन्त्र रचेर शोषक वर्गले सिधासोझा थारुहरुको जग्गा जमिन, धन सम्पत्ति कसरी हत्याए भन्दै नाटक मार्फत देखाउन खोजिएको थियो ।
यस्तै बिहीबारको प्रर्दशनको कार्यक्रममा नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो । प्रदर्शनमा नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायतका नागरिक समाजका अगुवाहरु सहभागी रहेका थिए । प्रदर्शनमा सांसद रेशम चौधरीको छोरा पनि प्लेकार्डसहित सहभागी भएका थिए ।
प्रदर्शन र धर्नामा सहभागीले सांसद रेशम चौधरीको रिहाइ, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहाइ गर्न माग गरेका छन् ।
संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । घटना भएको दोस्रो दिन बिहान कफ्र्यु जारी भएको समयमा ८० भन्दा बढी थारू समुदायका घर, पसल, एफएम लगायतमा आजजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरीसहित नेता कार्यकर्ता जेल सजाय भोगिरहेका छन् ।