धनगढी । कैलालीको टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना हुने भएको छ ।
डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालले उत्सव आयोजना गर्न लागेको हो । दुर्लभ घडियाल गोहीको संरक्षण सम्बन्धी सचेतना फैलाउने उद्देश्यले सो उत्सव भदौ ११ गते गर्न लागेको संस्थाका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार उत्सवमा नेपाल र भारतमामात्रै सीमित दुर्लभ घडियालको बारेमा जानकारी गराउने, संरक्षण सम्बन्धी सन्देश दिने कार्य हुनेछ ।
डल्फिन संरक्षण क्षेत्रसमेत रहेको टीकापुर नगरपालिका–७, भजनी नगरपालिका–८ र ३ स्थित घडियाल गोही रहेका छन् । यो बेला मोहना, पथरैया, काँढा नदीको दोभानहरुमा घडियाल गोही देखा परिरहेका छन् । सो क्षेत्रमामात्रै दुई दर्जन घडियाल रहेको ढुङ्गानाको दाबी छ ।
यसैगरी, घडियाल उत्सवकै दिनदेखि सप्ताहव्यापी दोस्रो डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण सचेतना सप्ताहव्यापी कार्यक्रम सुरु हुने भएको छ । भदौ १७ गतेसम्म आयोजना हुने सप्ताहव्यापी सचेतना कार्यक्रममा डल्फिन अवलोकन, ओत संरक्षण सम्बन्धी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, वृक्षारोपण कार्यक्रम हुने अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।
यसैगरी, दुर्लभ डल्फिन र घडियाल संरक्षणका लागि साँसद, मेयर÷उपमेयरलाई एसएमएस पठाउने, पुरस्कार वितरण लगायतको कार्यक्रम रहेको ढुङ्गानाले जानकारी दिए ।