टीकापुर । सुशासन, समृद्धि र सद्भावका लागि टीकापुर घटनाका राजबन्दीलाई रिहाइ गर्नुको विकल्प नरहेको बताएका छन् । टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरी सांसद् रेशम चौधरी लगायत सम्पूर्ण राजबन्दीलाई रिहाई गर्नुको विकल्प नरहेको बताउँदै रिहाइको माग गरेका हुन् ।
२०७२ भदौ ७ गते टीकापुरमा घटना भएको दिनलाई विद्रोह दिवसको रुपमा मनाउन आयोजित समारोहका अधिकांश वक्ताहरुले राजनीतिक दलहरुले घटनालाई राजनीतिक घटना भने पनि निर्णय गर्न नसकेको सो माग गरेका हुन् । उनीहरुले थारु समुदायले राजनीतिक माग राखिगरेको आन्दोलनमा भएको घटनालाई लिएर आन्दोलनमा संलग्न निर्दोष व्यक्तिलाई जेल सजाय गरेकोप्रति विरोध जनाएका छन् । २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेशम चौधरी विजयी भएपनि पाँच वर्षदेखि कैलालीको निर्वाचन क्षेत्र नं.१ संघीय जनप्रतिनिधिविहिन भएको छ ।
थरुहट÷थारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारिणी सभालगायतले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका मेयर एवं नागरिक उन्मुक्तिका नेता रामलाल डंगौरा थारुले भने, ‘विकास, समृद्धि र सदभावको लागि तत्काल टीकापुर घटनाको अभियोगमा थुनिएका बन्दीहरुलाई तत्काल रिहा गरिनुपर्छ । उहाँहरुको रिहाइपछि टीकापुरमा कहिलै पनि सदभाव बिग्रने छैन ।’
आसन्न निर्वाचन अगाडि नै जेलबन्दीहरुलाई रिहा गरी सामाजिक सद्भावको वातावरण राज्यले सिर्जना गर्नुपर्ने समेत मेयर थारुको माग थियो ।
कैलालीका सबै स्थानीय तहहरुले टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरी सो घटनाका अभियोग लागेका व्यक्तिहरुको रिहाइ गर्न पहल गर्नुपर्ने लम्की चुहा नगरपालिकाकी मेयर सुशिला शाहीले बताइन् ।
थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीले टीकापुर घटनाको निकासको लागि टीकापुर घटना छानविनको लागि तयार पारिएको गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताए । सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिँदा थारुलगायत उत्पीडित समुदायमाथि अन्याय भएको उनको भनाइ थियो ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले आयोजित कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका मेयर केवल चौधरीले अधिकार प्राप्तीको राजनीतिक आन्दोलनमा राज्यले दमन गर्दा टीकापुर घटना घट्न पुगेको बताउँदै उनले यहाँको विकाको लागि राज्यले टीकापुर घटना सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गरे ।
थरुहट नेता लक्ष्मण थारुले हालसम्म राजनीतिक आन्दोलनलाई आपराधिक आन्दोलनको रुपमा लिएको बताउँदै अब हुने चुनावलाई नै आन्दोलनको रुपमा लैजान आह्वान गरे । टीकापुर विद्रोहको जगमा नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै नेता थारुले भने, ‘सरकारले हालसम्म हाम्रो मुद्दाप्रति सकारात्मक छैन । तर आमजनताको एउटै माग छ, टीकापुर घटना राजनीतिक हो, राजनीतिक ढंगले सम्बोधन गर्नुको विकल्प छैन । जनताले आफ्नो मत मार्फत सरकारलाई सन्देश दिदै आएका छन् । जसको परिणाम हो, नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह निर्वाचनमा कैलालीको चार पालिकाकामा जीत हासिल गर्नु । त्यसैले आउँदो चुनावलाई आन्दोलनको रुपमा लिनुपर्छ । सबैभन्दा सजिलो आन्दोलन नै निर्वाचन हो ।’
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले टीकापुर घटनाको क्षतिपूर्तिको रुपमा आगामी निर्वाचनमा टीकापुर क्षेत्रमा सबै राजनीतिक दलले थारु उम्मेद्वार दिनुपर्ने बताए । उनले संविधानले दिएको अधिकारहरु कार्यान्वयन गर्दै सबै क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।
संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भएर ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।
घटना भएको दोस्रो दिन बिहान कफ्र्यु जारी भएको समयमा ८० बढी थारु समुदायको घर, पसल, एफएम लगायतमा आगजनी भएको थियो । उक्त घटनाको मुद्दामा सांसद रेशम चौधरी सहित नेता कार्यकर्ता जेल सजाय भोग्दै आएका छन् ।