२२ भाद्र २०८१, शनिबार September 7, 2024

नागरिकलाई कोरोना खोप उपलब्ध गराउन सरकारबाट कुनै पनि कुराको कमी छैन् : राज्यमन्त्री रैका

२७ श्रावण २०७९, शुक्रबार
नागरिकलाई कोरोना खोप उपलब्ध गराउन सरकारबाट कुनै पनि कुराको कमी छैन् : राज्यमन्त्री रैका

धनगढी । नागरिकहरुलाई कोरोना खोप उपलब्ध गराउनका लागि प्रदेश सरकारले कमी नगरेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले बताएका छन् । विहिबार धनगढीमा भएको कोरोना खोप सम्बन्धि जिल्लास्तरिय बैठकका प्रमुख अतिथि रहेको रैकाले यस्तो बताएका हुन् ।
‘सुदूरपश्चिमका नौँ जिल्लाका नागरिकहरुलाई कोरोना खोप पुगाउन प्रदेश सरकार स्रोत साधनले भ्याएसम्म लागेको छ’, उनले भने । ‘यसमा प्रदेश सरकार मात्र भन्दा पनि संघसंस्था नागरिकहरुको सबैको सहयोग आवश्यक हुन्छ ।’
उनले पहिलो र दोस्रो चरणमा आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर कोरोना संक्रमितको उपचारमा संलग्न स्वासथ्यकर्मीहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए । अझै पनि स्वास्थ्यकर्मी लगायत सरोकारवाला निकायका सबैको सहयोग रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका संयोजक पदमबहादुर कलेलले कोरोना खोपका बारेमा अझै पनि भ्रम रहेको बताउँदै त्यो भ्रम चिर्नका लागि आफ्नो सहयोग रहने बताए । सबै नागरिकहरुलाई कोरोना खोप उपलब्ध गराउनमा स्थानीयतहसंग सहकार्य गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले ग्रामिण क्षेत्रसम्म खोप पुगाउनमा सबैको सक्रियता आवश्यक रहेको बताए । उनले खोप अभियानलाई सफल पार्नका लागि सरकार या कुनै एक संघसंस्थाको जिम्मेवारी भन्दा पनि सबैको भूमिका रहने बताए ।
कार्यक्रमका सहभागिहरुले खुल्ला सीमानाको कारण कैलाली कोरोनाको मात्र जोखिम नरहेर ‘मन्की पक्स’को पनि उत्तिकै जोमिख रहेको बताएका थिए । ‘मन्की पक्स’का लागि पनि जनचेतनाका कार्यक्रमहरु समेत आवश्यक रहेको सहभागिहरुले औल्याए । कोरोना खोप सबै नागरिकहरुसम्म पुगाउनका लागि विद्यालयहरुलाई प्राथमिकता राख्न आवश्यक रहेको सहभागिहरुको जोड रहेको थियो । कार्यक्रमका सहभागीहरुले खोप कभरेजलाई प्रभावकारी बनाउन आवश्यक प्रचारप्रसार तथा विद्यालय र जनप्रतिनीधी केन्द्रित भएर खोप अभियान चलाउनु पर्ने बताएका थिए ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले मंसिर ४ गते हुने निर्वाचन भन्दा अगाडि सबै नागरिकहरुलाई कोरोना खोप दिन गरी कार्य भईरहेको बताए । ‘त्यसका लागि विभिन्न खोप अभियानहरु समेत सञ्चालनको तयारी रहेको छ’, उनले भने । ‘केहि दिनमा मोबाईल टोलि समेत परिचालन गरिने छ ।’ उनले भीडभाड बढी देखिने सार्वजनिक स्थलमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको बताए ।
कैलालीमा पहिलो खोप ९३ प्रतिशत, दोस्रो खोप ७९ प्रतिशत र तेस्रो खोप ३६ प्रतिशत नागरिकलाई मात्र लगाएका छन् ।
कार्यक्रममा यस्तै, गरी सुदूरपश्चिमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्त, स्वास्थय निर्देशनालय दिपायलका निर्देशक जगदिश जोशी लगायतले आफ्नो धारण व्यक्त गरेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको आयोजना र बेस र फाया नेपालको सहकार्यमा बैठक सम्पन्न भएको हो ।