८ बैशाख २०८१, शनिबार April 20, 2024

शिवरत्नपुरका बाढी प्रभावित परिवारको विचल्ली

२२ श्रावण २०७९, आईतवार
शिवरत्नपुरका बाढी प्रभावित परिवारको विचल्ली

कैलाली । कैलालीमा प्राकृतिक प्रकोपबाट विस्थापित भएका परिवारको विचल्ली भएको छ । कैलारी गाउँपालिका–३ शिवरत्नपुर र भजनी नगरपालिका–५ पुलियापुरका विस्थापितको विचल्ली भएको हो ।
शिवरत्नपुरमा मोहना नदीको कटानको कारण जोखिममा परेपछि १६ परिवार विस्थापित छन् । यस्तै, भजनीमा भने घर डुवान भएपछि दुई महिनादेखि १२ घरपरिवार हुलाकी सडकमा त्रिपालमुनि बस्दै आएका छन् ।
शिवरत्नपुरमा नदीले घर बगाउने अवस्था सृजना भएपछि आ–आफ्ना घर भत्काएर काठ, छाना सुरक्षित स्थानमा सारेका विस्थापित ती परिवार अस्थायी टहरा बनाएर बस्दै आएका छन् ।
‘विस्थापितलाई बसोबास, खानेपानी, शौचालयको समस्या छ’, स्थानीय सन्तराम चौधरीले भने । उनका अनुसार नदी बस्ती नजिक पुगेपछि ९५ घरधुरी कटानको जोखिममा परेको छ । नदीको कटानका कारण विस्थापित भएका परिवारहरु अस्थायी टहरामा त्रिपाल र प्लाष्टिकमुनि बसिररहेका छन् ।
कटान नियन्त्रणका लागि बनाइएका तटबन्धलाई नदीले बगाएपछि यस्तो अवस्था सृजना भएको हो । स्थानीयले कटान हुने क्षेत्रमा गत जेठमामात्रै २० लाख रुपैयाँ लगानीमा तटबन्ध बनाएका थिए । तर, मध्य असारको बाढीले तटबन्ध नै बगाइ दियो । तटबन्ध बगेपछि त्यसमा गरिएको लगानी त खेर गएको छ नै, साथै जोखिममा परेका परिवारको उठिबास नै भएको छ ।
नदीले कटान गर्दै आएकाले विस्थापित भए पनि त्रास नहटेको स्थानीय सुदेशनी चौधरीको भनाइ छ । ‘नदीले उठिबास गरेपछि धेरै समस्या भएको छ’, उनले भनिन्,‘घामपानी सहदै त्रिपालमुनि बसेका छौं ।’
शिवरत्नपुर बाढी, डुवानको उच्च जोखिममा रहेको गाउँ हो । सो गाउँ विगतदेखि डुवानमामात्रै पर्दै आएको छैन । नदीले विस्तारै जमिनसमेत कटान गर्दै आएको छ । हरेक वर्ष कटान गर्दै मोहना नदी नजिकिएपछि कैलारी गाउँपालिकामा स्थापना भएको खाद्य बैङ्कबाट १५ लाख र विपद् जोखिम न्यूनीकरण कोषको पाँच लाख गरी २० लाख रुपैयाँ लगानीमा तटबन्ध बनाइएको थियो । तर, कटान भइरहेको क्षेत्रमा २० लाख रुपैयाँ लगानी गरेर जेठमा बनाइएको तटबन्ध दुई महिना पनि टिकेन ।
तटबन्ध बगाएको नदीले बस्तीतर्फ कटान गर्दै आएको छ । यद्यपि, कटान नियन्त्रणका लागि अहिले तटबन्धन बनाउन नसकिने कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीको भनाइ छ । ‘पटक–पटक बाढी आइरहेकाले वर्षा याममा त्यहाँ तटबन्धन बनाउन सकिन्न’, उनले भने ।
यसैगगरी, भजनीका विस्थापित परिवार त्रिपालमुनि घामपानी छल्दै आएका छन् । त्रिपाल कुहिनुका साथै च्यातिएकाले समस्या भएको विस्थापितको भनाइ छ ।