१३ बैशाख २०८२, शनिबार April 26, 2025

विपतपुरका मुक्तकमैयासँग ‘जग्गाको लालपुर्जा छ, नक्सा छैन’

१९ श्रावण २०७९, बिहीबार
विपतपुरका मुक्तकमैयासँग ‘जग्गाको लालपुर्जा छ, नक्सा छैन’

कैलाली । हातमा जग्गाको लालपुर्जा छ, तर नक्सा छैन् । यो समस्या हो, कैलारी गाउँपालिका वडा नम्बर ७ विपतपुर मुक्तकमैया शिविरको । विगत डेढ दशक देखि बस्दै आएको ठाउँको मुक्तकमैयाहरुको हातमा जग्गाको लालपुर्जा छ, तर अहिलेसम्म उक्त जग्गाको नक्सा नै छैन ।
विपतै विपतले थिचिएका विपतपुर बासीहरुको जग्गाको नक्सा नभएर विभिन्न किसिमका समस्या झेल्दै आएका छन् । नक्सा नभएर उनीहरु जग्गाको क्षेत्रफल छुट्याउन, घर नक्सा बनाउन र बैंकिङ कार्य गर्न सकिरहेका छैनन् ।
शिविरका बीसराम चौधरीले आफूसंग जग्गाको लालपुर्जा भए पनि नक्सा नरहेको बताए । नक्सा नभएर अहिलेसम्म आफ्नो जग्गा हालसाविक गर्न र क्षेत्रफल छुट्याउन नसकेको उनले बताए । यसका साथै उनले घर नक्सा बनाउन र बैंकिङ कार्य समेत गर्न नसकेको बताए ।


‘हातमा लालपुर्जा पाएको मेरो १५/१६ वर्ष भैसक्यो, तर अझैसम्म जग्गाको नक्सा नै पाएको छैन’, उनले भने–‘नक्सा नभएर हामीलाई आफ्नो जग्गाको क्षेत्रफल छुट्याउन, घर नक्सा बनाउन र बैंकिङ कार्य गर्न समस्या भएको छ ।’
नापी कार्यालयको लापार्वाहीले समस्या झेल्नु परेको शिविरका स्थानीय दाउराम चौधरीले बताए । उनले कार्यालयले आफूहरुको नक्सा नै गायव गरेको आरोप समेत लगाए । उनले नापी कार्यालयकै कारण समस्या झेल्नु परेको बताए ।
भुमिसुधार कार्यालय कैलालीले २५ मंसिर २०६८ मा नापी कार्यालय कैलालीलाई मुक्त कमैया पुनःस्थापन जिल्ला समितिले मुक्त कमैयाहरुलाई वितरण गरिएको जग्गाको नक्सा र फिल्ड बुक पठाइएको थियो । जसमा साविक रतनपुर गाविस वडा नम्बर ७ का २०६३/०६४ को फिल्ड बुक २ थान र नक्सा १ थान पठाइएको थियो ।
उक्त फिल्ड बुक र नक्सा १४ पुस २०६८ मा नापी कार्यालयमा बुझिएको रेकर्ड भए पनि उक्त फिल्ड बुक र नक्सा नै गायव भए पछि झनै समस्या भएको विपतपुरबासीहरुले दुखेसो पोखेका छन् ।
यता नापी कार्यालय कैलालीका नापी अधिकृत नवराज अवस्थीले उक्त फिल्ड बुक र नक्सा खोज्न लगाएको बताए । उनले उक्त डकुमेन्ट पाउने वित्तिकै नक्साका लागि प्रक्रिया अगाडी बढाउने बताए ।


बिहीबार मात्रै दाउराम चौधरीको अगुवाइमा जग्गाको लालपुर्जा हालसाविक गरि नयाँ लालपुर्जा दिनु पर्ने, ६५ घरधुरीलाई उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र अनुसारको ब्लुप्रिन्ट र फाइल नक्सा उपलब्ध गराउनु पर्ने माग सहित भुमीसुधार, मालपोत र नापी कार्यालयमा मागपत्र बुझाइएको छ ।
यसका साथै पुनःस्थापना प्रक्रियाको क्रममा १३ घरधुरी मुक्तकमैया परिचय बन्ने क्रममा रहेकाले तत्कालीन समयमा जग्गा उपलब्ध गराएपनि हालसम्म सोही १३ घरधुरीलाई मुक्त कमैया परिचयपत्र प्राप्त गर्न बाँकी रहेकाले मुक्त कमैयाहरुलाई परिचयपत्र उपलब्ध गराउनुका साथै कागजमा लेखेर दिएको चुट्काको सट्टा वास्तविक हालसाविक भएको लालपुर्जा उपलब्ध गराउनु पर्ने माग राखिएको छ ।
भुमि सुधार कार्यालयले २१ फागुन २०६३ मा ६५ घरधुरीलाई ५ कठ्ठाका दरले जग्गा वितरण गरेको थियो । त्यस मध्ये ५२ घरधुरीलाई लालपुर्जा सहित र बाँकी १३ घरधुरीको कमैया परिचयपत्र बन्ने प्रक्रियामा रहेकाले जग्गाको लालपुर्जा नदिएर कागजको चुट्कामा लेखेर जग्गाको कित्ताकाट गरि वितरण गरेको थियो ।
नेपाल सरकारले २०६४ मा बसोबास गराइएको मुक्त कमैया बस्तीमा अहिले ७२ घर परिवार बस्दै आइरहेका छन् ।

मागपत्र बुझाउने टोलीहरुमा वडा नम्बर ७ का पूर्व अध्यक्ष कमलप्रसाद चौधरी, शिविरका भलमन्सा हिंगुराम चौधरी, याक नेपालका विनोद सिंह, प्रदीप चौधरी लगायतको सहभागिता रहेको थियो ।