माया भट्ट
सात नम्बर प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री
२०१६ सालमा एसियाकै पहिलो महिला मन्त्री बैतडीकी द्वारिकादेवी ठगुरानीपछि चारपटक प्रधानमन्त्री पाएको बैतडीबाट महिलाहरूले मन्त्री हुने अवसर नपाएको बेला बैतडीबाट माया भट्टले यो पटक प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री बन्ने अवसर पाउनुभएको छ ।
२०४६ सालको आन्दोलनबाट प्रभावित भएर वामपन्थी राजनीतिमा लाग्दा त्यो बेला कम्युनिष्ट सिद्धान्त अंगालेका नेता देख्ने बित्तिकै समाजको हेर्ने नजरसमेत ठिक थिएन । माया भट्टले त्यही सिद्धान्त अंगालेर गाउँगाउँ पुगेर महिलालाई संगठित गर्नुभयो । घरधन्दामा सिमित महिलालाई समाजमा हिडाउँन उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ । २०४६ सालमा अखिल नेपाल महिला संघको जिल्ला संयोजक बन्नुभएका भट्ट २०५४ सालमा तत्कालिन जिल्ला विकास समितिको सदस्य हुँदै जिल्ला विकास महासंघको केन्द्रीय सदस्य रहेर स्थानीय तहको समेत अनुभव छ । यही सेरेफेरोमा सात नंं प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टसित गरिएको संसक्षप्त कुराकानीः
महिलाहरू उपप्रमुख पदमै सीमित भए भन्ने गुनासोका बीच तपाई प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभयो, कस्तो लागिरहेको छ ?
(म एकदमै खुशी छु । पार्टीले सही मूल्यांकलन गरेको छ भन्ने लागेको छ । आधा धर्ती ढाकेका महलाहरूलाई जिम्मेवारी दिने सन्दर्भमा कतिपय ठाउँमा अझैं पितृसत्तात्मक सोच कायमै छ । जहाँसम्म मैले जिम्मेवारी पाएको कुरा छ, त्यो मेरो संघर्ष र पार्टीको सही मूल्यांकलनले दिएको अवसरका रूपमा लिएकी छु । मन्त्री हुने अवसर पाए पनि काँधमा ठूलो जिम्मेवारी थपिएको छ । मेरो कार्यकालमा म केही नयाँ काम गरेर देखाउन चाहन्छु । काम गर्न नसके महिलाहरू गर्न सक्दैनन् भन्ने हुन्छ । त्यो चुनौतिको सामना गरेर समृद्ध प्रदेश बनाउने विषयमा जिम्मेवार भएर लाग्छु ।
सात नम्बर प्रदेश समृद्ध बनाउन के गर्नुहुन्छ ?
(राज्यको मुलप्रवाहबाट पछिपरेको हिजोको सुदूूरपश्चिम अब पुरानो परम्परा अनुसार होइन्, नयाँ ढंगले यहाँको विकास गर्ने कुरामा दत्तचित्त भएर लाग्छौं । जलश्रोत, जंगल र जडीबुटीमा सात नंं प्रदेश धनी छ । पर्यटन यहाँको अर्को महत्त्वपूर्ण गन्तव्य बन्नसक्छ । खप्तड, रामारोशन, नेपालकै लामो गुफा पात्तालभुमेश्वर हामीसित छ । विद्युत उत्पादन गर्न कर्णाली, पश्चिमसेती, महाकाली र चमेलिया नदी छ । पर्यटनका लागि अपी, सैपाल र जेठी बहुरानी हिमाल छ । यार्शागुम्बा लगायत सयौं जडीबुटीको भण्डार छ । जलवायुपरिवर्तनको कुरा उठिरहेका बेला हरियाली वन छ । उद्योगधन्दा र पर्यटनको प्रचूर सम्भावना छ । यी सबै कुराको विकास गरेर सात नंं प्रदेशलाई पर्यटन, उर्जा र हरियाली वनबाटै समृद्ध प्रदेश बनाउँछौं ।
२८ वर्षदेखि कम्युनिष्ट राजनीतिमा हुनुहुन्छ । समानता र समावेशीका कुरासँगै सर्वहारा वर्गको हितमा राज्यले काम गर्नुपर्छ भनेर भाषण गर्नुहुन्थ्यो । अब, तपाईनै त्यो काम गर्ने ठाउँमा पुग्नुभएको छ । सर्वहारा वर्ग र महिलाहरूले परिवर्तनको महशुस कसरी गर्न पाउँछन् ?
(हामीले हिजो, सर्वहारा वर्गको मुक्ति, महिला समानताका कुरा मात्रै गरेका होइनौं, राज्यको चरित्र बदल्न संघर्ष पनि ग¥यौं । आज देशमा संघीय गणतन्त्रात्मक व्यवस्था आएको छ । महिला, दलित, मधेशी, मुश्लीम, अल्पसंख्यक, सीमान्तकृत समुदयाका आवाज सुन्ने राज्य व्यवस्थाको निर्माणमा हामी लागेका छौं । आज महिलाहरूको राज्यका हरेक निकायमा ३३ प्रतिशत भन्दा बढी सहभागिता देखिएको छ । अन्य सीमान्तकृत, शोषित, उत्पीडित जनताले मुक्तिको आभाष गर्न पाएका छन् । हिजो सामन्तवाद अन्त्य गर्ने लडाई थियो । अब, सर्वहारा वर्गको समुन्नती, रोजगारी, शिक्षा, स्वास्थ्य जस्ता कुराको ग्यारेण्टी हुनुपर्छ भन्ने छ । त्यो अवस्था समृद्धिले मात्र ल्याउन सक्ने भएकाले हामी त्यतापट्टी गम्भीर भएर लागेका छौं ।
सुदूरपश्चिममा महिलाहरूको अवस्था अझैं फेरिन सकेको छैन । रोजगारीका लागि पुरुषहरू विदेश गएपछि महिलाहरूमाथि थप कामको बोझ थपिएको छ । ती महिलाहरूलाई कसरी खुशी पार्नुहुन्छ ?
(हो, सुदूरपश्चिमका अधिकांश महिलाहरूको पानी–पँधेरो, घास दाउरा, खेतीपाती र बालबालिकाको हेरचाहमै दैनिकी बित्ने गरेको छ । यती धेरै काम गरेर पनि महिलाले सम्मान पाउन सकेका छैनन् । महिलाहरूसित जोडिएका जल, जंगलका कामहरू अब समयसापेक्ष फेरिनुपर्छ । यो विषयमा सात नम्बर प्रदेशको वन तथा वातावरण मन्त्रालयले महिलाहरूको आर्थिक आम्दानी हुने गरी हरियाली वन कार्यक्रम, महिलाहरूको मात्रै समूह बनाएर कवुलियत वन जस्ता कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल र नीति बनाउने कुरा अघि बढाएको छु ।
प्रस्तुति स् गोकर्ण दयालरबैतडी
साभार स् गोरखापत्र ।