धनगढी, १२ साउन । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ यस वर्ष पनि धनगढीमा भव्यताका साथ मनाउने भएको छ ।
सखी सञ्जाल कैलालीको आयोजनामा धनगढीमा भएको थारु अगुवाहरुको बैठकले यस वर्ष पनि धनगढीमा गुरही पर्व मनाउने भएको हो । सञ्जालकी अध्यक्ष सुनिता चौधरी सानुले यस वर्षपनि विभिन्न कार्यक्रमको आयोजना गरी धनगढीको गुरही चौकमा गुरही पर्व मनाउने तयारी गरिएको बताइन् । यस वर्ष गुरही पर्व भदौ १ गते सोमबारको दिन परेको छ ।
सोही बैठकबाट गुरही पर्व तयारी तथा भव्यताका साथ सम्पन्न गर्नका लागि विभिन्न समिति तथा उपसमिति गठन गरिएको अध्यक्ष चौधरीले जानकारी दिइन् । उनले आफ्नै संयोजकत्वमा गुरही असरैना मूल आयोजक समिति गठन गरिएको बताइन् ।
मूल आयोजक समितिको सहसंयोजकमा थारु लेखक संघ नेपालकी अध्यक्ष कविता चौधरी, सदस्य सचिवमा सखी सञ्जालकी तारा चौधरी रहेका छन् । त्यसैगरि समितिमा थाकस धनगढी नगर समिति, राष्ट्रिय थारु कलाकार मञ्च, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, थारु पत्रकार संघ, बातचित घर, थारु महिला सञ्जाल, थारु विद्यार्थी समाज, सखी मञ्च, हमार फाउण्डेशन, पहुरा थारु दैनिक, गोहिनके फाउण्डेशन, हमार चैनार समूह, सुदूरपश्चिम समाज, हिरगर साहित्यिक बगाल रहेको छ ।
सोही बैठकले जिम्मेवारी बाँडफाँट पनि गरकोे छ । सखी सञ्जालकी कोषध्यक्ष बसन्ती चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति, पहुरा थारु दैनिकका सम्पादक प्रेम चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति, मंगल चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, रोहित चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, राजु चौधरीको संयोजकत्वमा सांस्कृतिक उपसमिति, सागर कुश्मीको संयोजकत्वमा स्वयम सेवक परिचालन उपसमिति, कल्पना चौधरीको संयोजकत्वमा पुजा समाग्री तथा भुजा गुडा उपसमिति, सुर्य चौधरीको संयोजकत्वमा मास परिचालन उपसमिति गठन गरिएको छ ।
त्यसैगरि सल्लाहकार समितिमा प्रभात कुमार चौधरी, फोनीराम चौधरी, माधव चौधरी, निर्मला बखरिया, दुर्गा कुश्मी, राम कुमारी चौधरी, पुरन चौधरी र इन्द्रा चौधरी रहेका छन् ।
थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ । विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् ।
यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पर्व मनाउने गरिन्छ ।
गुरही पर्व खासगरी बालबालिकासँग सम्बन्धित मानिन्छ । पछिल्लो समय सबै उमेर समूहका मानिसहरूले यो पर्व मनाउने गरेका छन् । यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ ।
यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चौर वा चौबाटोमा सेलाउने चलन रहेको छ । बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने÷पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ । गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसैगरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ । गुरही पर्वको अवसरमा कैलालीको तराई क्षेत्रका सबै स्थानीय तहले स्थानीय बिदा पनि दिने गरेका छन् ।