२३ असार २०८३, मंगलवार July 7, 2026

१० वर्षीय बालक हत्या प्रकरणका फरार अभियुक्त पक्राउ

२३ असार २०८३, मंगलवार
१० वर्षीय बालक हत्या प्रकरणका फरार अभियुक्त पक्राउ

धनगढी, २३ असार । कैलालीको धनगढी उपमहानगरपालिका–१७ का १० वर्षीय बालक तनुज चौधरीको हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना भएको १० दिनपछि प्रहरीले गौरीगङ्गा नगरपालिका–६ का २५ वर्षीय खगेन्द्र भन्ने खेमराज कठायतलाई आज पक्राउ गरेको हो । असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वन क्षेत्रमा वीभत्स हत्या गरिएको अवस्थामा बालकको शव भेटिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै तीन जनालाई पक्राउ गरेको थियो भने खेमराज फरार थिए ।
फरार अभियुक्तलाई धनगढी उपमहानगरपालिका–२ भन्सार रोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका उनलाई हिरासत कक्षमा राखेर ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।