७ फाल्गुन २०८१, बुधबार February 19, 2025

विद्यालयका पदाधिकारीको राजीनामा माग

१३ श्रावण २०८१, आईतवार
विद्यालयका पदाधिकारीको राजीनामा माग

धनगढी, १३ श्रावण । कैलालीको कैलारी गाउँपालिका–७ भुईयाँफाँटाका स्थानीयले गाउँमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् ।
२०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी सो विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण (नन ग्रेडिङ) भएपछि स्थानीयले प्रधानाध्यापक देशराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद चौधरी र शिक्षक अभिभावक संघका पदाधिकारीको राजीनामा माग गरेका हुन । सो गाउँको आज बसेको भेलामा ३५८ जना अभिभावकले नतिजाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नैतिकताका आधारमा प्रअसहितका पदाधिकारीहरुले राजीनामा दिनु पर्ने निर्णय सर्वसम्मतले पारित गरेका छन् ।


सो विद्यालयबाट ४४ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । जसमध्ये कोही पनि उत्तीर्ण हुन सकेनन् । यसैगरी, अभिभावकको भेलाले विद्यालयको गत आर्थिक वर्षको उल्लेख नभएको हरहिसाब पछ्र्योट गरी सार्वजनिक गर्नु पर्ने माग राखेको छ । पछ्र्योट गरिएको हरहिसाब गाउँ समाजबाट अनुमोदन गराई एक हप्ताभित्र सार्वजनिक गर्नु पर्ने भेलाले निर्णय गरेको हो । गाउँका भलमन्सा फिरुराम चौधरीको अध्यक्षतामा अभिभावक भेला भएको थियो ।