धनगढी, ८ श्रावण । पश्चिमवासी थारू समुदायमा मनाउने गुरही पर्व यो वर्ष श्रावण २५ गते शुक्रबारको दिन परेको छ ।
हरेक थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्व हरेक वर्ष नागपञ्चमीको दिन मनाइँदै आएको छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउने गरिएको छ ।
यता धनगढीमा २०६७ सालदेखि गुरही पर्वलाई संस्थागत रूपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा सोमबार गुरही मनाउने बारे धनगढीमा छलफल पनि गरिएको छ ।
गुरही पर्वलाई भव्यताका साथ मनाउने तयारीबारे छलफल भएको सखी सञ्जाल कैलालीका कार्यवाहक अध्यक्ष उन्नति चौधरीले बताइन् । उनका अनुसार नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्य सहित भब्यताका साथ मनाउने गरि तयारी थालेको बताइन् । उनले गुरही चौकमा शिलान्यास भएको गुरहीको मूर्ति निर्माण कार्य अगाडी बढाउने बारे पनि छलफल भएको बताइन् ।
गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ ।
बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने÷पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ ।
गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।
गुरही पर्वको अवसरमा कैलालीको तराई क्षेत्रका सबै स्थानीय तहले स्थानीय बिदा पनि दिने गरेका छन् ।