धनगढी, ३१ असार । यति बेला कैलाली र कञ्चपुरका थारू गाउँमा हरदहुवा पर्वको रौनक छाँएको छ ।
धान रोपाईको कार्य सिद्धिएसँगै थारु समुदायमा हरदहुवा पर्वको रौनक छाँएको हो । महिनौ दिनसम्मको रोपाईको क्रममा भएका दुःख पीडालाई बिर्सने माध्यमको रुपमा लिइ थारु समुदायमा उत्सवको रुपमा मनाइने हरदहुवा पर्वको चहलपहल बढेको हो ।
गाउँ पिच्छे आ–आफ्नै तिथिअनुसार पुर्खौंदेखि रोपाईको कार्य सकिएलगत्तै मनाइने हरदहुवा पर्वमा समुदायमा आफ्ना विवाहित चेलीहरुका साथै इस्टमित्रहरुलाई बोलाएर आपसमा खुसीका साथ मनाउने प्रचलन रहँदै आएको छ । यतिमात्र नभइ थारु समुदायमा हरदहुवा पर्व सद्भावको प्रतीकको रुपमा रहेको थारु बुद्धिजीबीहरुको भनाइ छ । यस पर्वमा बंगुर, खसी, बोकालगायत पशुको मासुसँगै परम्परागत खानपिन बनाइ खाने प्रचलन रहेको बताइन्छ।
कैलारी गाउँपालिका–७, भुँइयाँफाँटाका भलमन्सा फिरु चौधरीले गाउँमा सबैले रोपाई सिद्धएको बताए । रोपाई सकिएलगत्तै हरदहुवाको तयारीमा लागेको बताउँदै भलमन्सा चौधरीले हरदहुवाको तिथि गाउँ समाजको निर्णयअनुसार निर्धारण गरिनेसमेत उनको भनाइ छ। उनले आफ्नो गाउँमा सावन १ गते सामूहिक रुपमा हरदहुवा पर्व मनाउने तयारी समेत भएको बताए ।
थारु बुद्धिजीबी दिलबहादुर चौधरीले धान रोपाई सकिएपछि सामूहिकरुपमा मनाइने पर्व रहेको बताए । केही दिनयता कैलाली र कञ्चनपुर जिल्लाका थारु समुदायमा हरदहुवा पर्वको रौनक बढेको जानकारी दिए । थारु समुदायको पहिचानको रुपमा रहेको बताउँदै उनले आ–आफ्नो क्षमता अनुसारको खानपिन बनाई नाचगान गरी मनाउने गरिएको उल्लेख गरे । हरदहुवा पर्वको पृष्ठभूमिबारे उल्लेख गर्र्दै चौधरीले भने– ‘हरदहुवालाई हलोले खेत जोत्नेै क्रममा भएका दुःख–पीडालाई पखाल्न निम्त्याएको पर्वका साथै हलो र निम्तोको रुपमा बुझिन्छ ।’