धनगढी, २४ असार । कैलालीको दक्षिणपूर्वी क्षेत्र डुबानमा परेको छ । कैलालीको कैलारी गाउँपालिका र भजनी नगरपालिकाका अधिकांश गाउँ जलमग्न भएका छन् । कैलारी–५ पुरानो मनिकापुरका १५ परिवार र पुरानो बैजपुरका १५ परिवार, वडा नम्बर ७ को बर्का र छुट्की बसन्ता, रामपुर र भुँइयाफाँटा गाउँ डुबानमा छन् । बाढीले बर्का र छुट्की बसन्ता, रामपुरको काठेपुल पनि बगाएको छ ।
बडैपुरबाट आउने कटैनी नदीको बाढी गाउँमा पसेको कैलारी गाउँपालिका अध्यक्ष रामसमझ चौधरीले बताएका छन् । जोखिममा परेकालाई मध्यरातमा सुरक्षित स्थलतर्फ सारिएको उनले बताए । यता, भजनी नगरपालिकाका सबै वडाका बासिन्दा डुबानबाट प्रभावित भएको नगरप्रमुख केवल चौधरीले बताए । कति घर डुबानमा छन् भन्ने यकिन नभइसकेको उनले बताए ।
आइतबार राति नै सुरक्षाकर्मीहरूले डुबानमा परेकालाई तीन वटा डुंगाबाट सुरक्षित स्थलमा सारेको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए ।
उनका अनुसार रातिको तथ्यांकअनुसार १४१ परिवारका ५९१ जना विस्थापितलाई नजिकका विद्यालयमा सारिएको छ । अझै पनि कैलालीका विभिन्न नदीको सतह जोखिमको तह आसपास रहेको प्रजिअ मिश्रले बताए । ‘विस्तृत अवस्था अहिले थाहा हुनेछ,’ उनले भने ‘अवस्थाअनुसार अन्य व्यवस्थापकीय सहयोग गर्ने तयारी छ ।’
यता नदीमा नुहाउनेक्रम एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ । कैलारी गाउँपालिका वडा नम्बर ९ का अन्दाजी १७÷१८ वर्षका अजय राना घुरहा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका छन् । उनी आइतबार साढे चार बजेतिर नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट प्रहरी टोली खटिई खोजतलास भईरहेको र हालसम्म लाश फेला नपरेको जनाइएको छ ।
उता कञ्चनपुरमा पनि एकजना चौधर नदिमा माछा मार्ने क्रममा डुबेर बेपक्ता भएका छन् । आइतार विहान ८ बजेतिर बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का अन्दाजी २२ वर्षका डम्मर चौधरी खोलाले बगाउदा बेपत्ता भएका हुन् । उनी बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी झिलमिला, कञ्चनपुरबाट प्रहरी टोली खटिई खोजतलास भईरहेको, हालसम्म लाश फेला नपरेको, प्रहरीले जनाएको छ ।