३२ असार २०८१, सोमबार July 15, 2024

विपतपुर शिविरका आगलागी पीडितले पाए नयाँ घर

२४ असार २०८०, आईतवार
विपतपुर शिविरका आगलागी पीडितले पाए नयाँ घर

धनगढी । कैलारी गाउँपालिका–७ विपतपुर शिविरका २७ आगलागी पीडित मुक्तकमैयाका परिवार नयाँ घर पाएपछि खुसी भएका छन् । गत वर्ष वैशाख ११ मा आगलागी हुँदा २७ घर जलेर नष्ट भएपछि मुक्तकमैयाहरु एक वर्षदेखि अलपत्र तथा झुपडीमा बस्दै आएका थिए ।
नजिकै खेतमा गहुँको नलमा लगाएको आगो दिउँसोे हावा चलेका बेला बस्तीमा सल्केको थियो । घरसहित लुगाकपडा र बालबालिकाका कापी–किताब समेत जोगाउन नपाएको आगलागी पीडित तेजराम चौधरीले बताए । उनले घर जलेर खरानी भएपछि दुई महिना खेतमा टेन्ट लगाएर बस्यौँ । बर्खामा डुबान हुने भएकाले खेतमा बस्न सम्भव थिएन । जलेकै घरमाथि छाप्रा बनाएर बसेको उनले बताए । अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले विपतपुरका आगलागी पीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर बनाइ दिएका छन् ।


मुक्तकमैया बस्तीमा आगलागी पीडितका लागि दुईवटा कोठा र एउटा भान्सा भएको र टिनले छाएका २७ वटा पक्की घर निर्माण गरिएका छन् । यस्तै कैलारी गाउँपालिका–७, विपतपुरका राजकुमार चौधरी पक्की घर निर्माणको काम हालै सम्पन्न भएपछि नयाँ घरमा सरिसकेका छन् । एक वर्षदेखि पाँचजनाको परिवारसहित कच्ची झुप्रोमा बसिरहेका उनी नयाँ पक्की घर पाएपछि खुसी देखीन्छन् । सुरुमा दुई महिनासम्म खेतमा त्रिपाल टाँगेर बसेका उनले बर्खामा त्रिपालमै बस्न सम्भव मानेनन् ।


त्यसपछि नयाँ घर बनाउन पैसा नभएपछि आगलागीले जलेको टिनले छाएर उनले पुरानै घरको छेउमा झुप्रो बनाएका थिए । नयाँ घरमा बस्न पाएपछि निकै सहज भएको र अब बर्खामा सर्प–किराको डर नहुने बताए । यस्तै आगलागी पीडित बेलमती चौधरीले झुपडीको समस्या हटे पनि ठूलो परिवार भएकाका लागि दुईकोठे घर अपुग हुने बताइन् । कैलारी गाउँपालिकाले २७ आगलागी पीडित मुक्तकमैया परिवारका लागि एक करोड ८२ लाख १२ हजार लागतमा नयाँ पक्की घर निर्माण गरिएको जनाएको छ ।
प्रदेश सरकारको ९० लाख र ह्याबिटेट फर ह्युमानिटी नेपाल नामक गैरसरकारी संस्थाकोे ५४ लाख लगानी र घर निर्माणमा लाभग्राही परिवारले ३८ लाख १२ हजार बराबरको श्रमदान गरेका थिए ।
आगलागी पीडित मुक्तकमैयाको सुरक्षित घर निर्माण समितिका अध्यक्ष हरिप्रसाद चौधरीले सबै घरको निर्माण कार्य सकिएको र केही दिनमै घर हस्तान्तरण गरिने बताए । निकै समस्यामा रहेको र घर बनेपछि बस्न सजिलो भएको अग्नि पीडितसमेत रहेका उनले बताए । आगलागीबाट करोडौँको क्षति भए पनि दिउँसोको समयमा भएकाले मानवीय क्षति भने हुन नपाएको उनले बताए ।

आगलागीलगत्तै तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले आगलागी भएको बस्तीमा पुगेर पीडितलाई नयाँ बनाइदिने प्रतिबद्धता जनाएका थिए । ‘त्यतिवेला म बस्तीमा पुग्दा पीडितको अवस्था निकै दयनीय देखेपछि घर निर्माण गरिदिने निर्णय गरेका थियौँ । मुख्यमन्त्री सुरक्षित आवास निर्माण कार्यक्रमअन्तर्गत आवश्यक बजेट विनियोजन गरिएको थियो,’ भट्टले भने, ‘अहिले पीडितले नयाँ घर पाउँदा खुसी लागेको छ ।’ 

स्थानीय चुनावका वेला पीडितको बस्तीमा गएर आश्वासन दिएको भन्दै त्यसवेला मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधेको थियो । विपन्न र पीडितका लागि घर बनाइदिन ल्याइएको मुख्यमन्त्री सुरक्षित आवास कार्यक्रमलाई अहिलेको सरकारले निरन्तरता नदिएकोमा पूर्वमुख्यमन्त्री भट्टको असन्तुष्टि छ । उनका अनुसार कार्यक्रमअन्तर्गत प्रदेशको एकल र स्थानीय तहसँग साझेदारी गरी एक सय ४३ घर बनाइएका थिए ।