१० चैत्र २०८१, सोमबार March 24, 2025

राना थारुको कला, संस्कृति संरक्षणमा सहयोग रहनेछ : राज्यमन्त्री रैका

१५ श्रावण २०७९, आईतवार
राना थारुको कला, संस्कृति संरक्षणमा सहयोग रहनेछ : राज्यमन्त्री रैका

कैलाली । नेपाली काँगे्रसका महासमिति सदस्य एंव सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले सुदूरपश्चिमको मुख्य चाडपर्व, परम्परा, भाषा, कला संस्कृति नै प्रदेशको पहिचान भएको बताएका छन् ।
सुदूरपश्चिमको कैलाली र कंचनपुरमा बसोबास गर्ने रानाथारु समुदायको पर्व तीज को अवसरमा आईतबार शुभकामना सन्देश दिँदै राज्यमन्त्री रैकाले उक्त कुरा बताएका हुन् । सन्देशमा राज्यमन्त्री रैकाले सुदूरपश्चिममा मनाईने सबै समुदायको मुख्य पर्वहरु र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकासमा प्रदेश सरकारले सहयोग र सहकार्य गर्ने बताए । उनले राना समुदायको विशेष पहिचान संस्कृति र परम्पराहरुको संरक्षणमा समेत आफूले सहयोग गर्ने बताए ।
रानाथारु समुदायको छुट्टै बिशेषता बोकेको तीज अन्य समुदायको भन्दा फरक तरिकाले रानाथारु समुदायका दिदी बहिनीले मनाउने गर्दछन् ।
यो पर्व बिशेषगरी रानाथारु दिदीबहिनीहरुले आफ्नो भाइ भतिजाको लामो दिर्घायुको लागि व्रत बस्ने गर्दछन् । तीजमा १५ दिन अगाडि देखि डोला अर्थात पिङ हालेर दिदिबहिनीहरु आफनै मौलिकता विशेषको गीत गाएर पिङ खेल्दै मनाउने गरिएको राना थारु समाजका अगुवा नन्दलाल राना ले बताए ।
राना थारू समुदायका दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामनासहित तीजपर्व मनाउने गर्दछन् । यस अवसरमा दाजुभाइले दिदीबहिनीका लागि गाउँमा राखिएको डोला (पिङ)खेल्ने चलन छ ।
तीजका अवसरमा घर–घरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । तीजका अवसरमा महिलाले घङ्घरिया, अङ्गिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन् । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँदछन् ।