२० मंसिर २०८१, बिहीबार December 5, 2024

रानाथारु समुदायको ‘तीज’ पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाद्वारा सार्वजनिक बिदा

१५ श्रावण २०७९, आईतवार
रानाथारु समुदायको ‘तीज’ पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाद्वारा सार्वजनिक बिदा

धनगढी । रानाथारु समुदायका महिलाहरुले मनाउने सांस्कृतिक पर्व ‘तीज’को अवसरमा धनगढी उपमहानगरपालिकाले आज साउन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज आइतबार बसेको उपमहानगरपालिकाको कार्यकपालिकाको बैठकले रानाथारु समुदायलाई स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरपालिकाले आइतबार एक पत्र जारी गर्दै साउन १५ गते रानाथारु समुदायमा मनाईने ‘तीज’को अवसरमा पालिकभरी स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ ।


यता तीज पर्वको अवसरमा अहिलेसम्म कुनैपनि स्थानीय तहबाट सार्वजनिक बिदा दिने नगरेको तर धनगढी उपमहानगरपालिकाले सार्वजनिक बिदा दिन गरेको निर्णय स्वागत योग्य रहेको नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह रानाले बताए । उनले यस पर्वलाई संरक्षण सम्बद्र्धनका लागि अहिलेसम्म कसैको ध्यान पनि नगएको बताए ।


उनले भने‘रानाथारु समुदायका महिलाले मनाउने यो पर्वको संरक्षण सम्बद्र्धनका लागि अहिलेसम्म कसैको ध्यान गएको छैन’, अन्य समुदायको चाडपर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको अवस्थामा यो पर्व भने हालसम्म सरकारबाटै उपेक्षित हुँदै आएको थियो । तर यसवर्षदेखि धनगढी उपमहानगरपालिकाले गरेको सार्वजनिक बिदा दिने निर्णय स्वागतयोग्य छ ।’
पर्वको शुभकामना दिँदै धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला कुमारी रानाले रानासमुदायको संरक्षण र सम्बद्र्धनमा स्थानीय तह गम्भिर रहेका बताएकी छिन् ।


उता तीजपर्वका अवसरमा कञ्चनपुरका दुई पालिकामा पनि सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको तीज विर्सजन हुने दिन साउन १५ (आइतबार) गतेका दिन बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बेलौरी नगरपालिकाको नवौँ नगरसभाको निर्णयानुसार राना थारू समुदायका तीजपर्वका लागि नगरपालिका मातहतका कार्यालयमा बिदा दिने निर्णय गरेको नगरप्रमुख पोतिलाल चौधरीले बताए । शुक्लाफाँटा नगरपालिका मातहतका कार्यालयमा कार्यरत राना थारू समुदायका कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टका अनुसार नगरप्रमुखस्तरीय निर्णयबाट राना थारू समुदायका कर्मचारीलाई एक दिन बिदा दिने निर्णय गरिएको छ । राना थारू समुदायका दिदीबहिनीले पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामनासहित तीजपर्व मनाउने गर्दछन् । यस अवसरमा दाजुभाइले दिदीबहिनीका लागि गाउँमा राखिएको डोला (पिङ)खेल्ने चलन छ ।
तीजका अवसरमा घर–घरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । तीजका अवसरमा महिलाले घङ्घरिया, अङ्गिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन् । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै यस पर्वलाई मनाउँदछन् ।