कैलाली । कैलालीलाई साक्षर जिल्ला घोषणा गरिएको छ । यहाँका १३ वटै स्थानीय तह साक्षर घोषणा गरिएपछि जिल्लालाई बुधबार साक्षर घोषणा गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका प्रमुख बैकुण्ठ सुवेदीले १५ देखि ६० वर्ष उमेर समूहमा साक्षरता दर ९५ प्रतिशतभन्दा माथि रहेकाले जिल्लालाई साक्षर घोषणा गरिएको बताए ।
२०६७ देखि २०७१ सालसम्म कैलालीमा साक्षरता अभियान सञ्चालन गरिएको थियो । अहिले स्थानीय तहले घरधुरी सर्भेक्षण गरेपछि साक्षर घोषणा गरेका हुन् । २०६७ सालमा गरिएको सर्भेक्षणमा एक लाख ५६ हजार निरक्षर रहेकोमा २०७१ सम्म सञ्चालन भएका साक्षरता अभियानहरुमा करिब एक लाख ६१ हजार जनालाई साक्षर बनाइएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
इकाइ प्रमुख सुवेदीले कैलालीलाई अब पूर्ण साक्षर घोषणा गर्ने चुनौती रहेको बताए । लक्षित उमेर समूहका सबैलाई साक्षर बनाएपछि मात्रै पूर्ण साक्षर घोषणा गर्न सकिने मापदण्ड छ । पूर्ण साक्षर घोषणाका लागि प्रयास गरिने सुवेदीले बताए । साक्षरता अभियान जिल्ला समन्वय समितिको बैठकले यसअघि जिल्लालाई साक्षर घोषणा गर्ने निर्णय गरेको थियो । स्थानीय तहले सर्भेक्षण गरेर साक्षर घोषणा गरेपछि समितिले जिल्लालाई समेत साक्षर घोषणा गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाइ कैलालीका अधिकृत प्रतापसिंह धामीले जानकारी दिए ।
कैलालीलाई साक्षर जिल्ला घोषणा गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले देशको विकासका लागि शिक्षामा जोड दिनुपर्ने बताए । प्रदेश सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । ‘शिक्षाको विकासले मात्र समाज र देश समृद्ध बन्न सक्छ ।’ उनले भने, ‘त्यसैले सुदूरपश्चिम सरकारले शैक्षिक विकासलाई आफ्नो प्राथमिकतामा राखेको छ ।’