१३ बैशाख २०८२, शनिबार April 26, 2025

थारु लोक कला संरक्षणका लागि बजेट विनियोजनको माग

२८ असार २०७९, मंगलवार
थारु लोक कला संरक्षणका लागि बजेट विनियोजनको माग

हसुलिया । लोप हुँदै गइरहेको थारु लोक कला संरक्षण सम्बद्र्धनका लागि कैलालीको कैलारी गाउँपालिकालाई बजेट विनियोजन गर्न माग गरेका छन् ।
सोमबार हसुलियामा भएको गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक सुनुवाई तथा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका गाउँपालिका संयोजक चन्द्र चौधरी ‘चाँद’ले थारु लोक कला संरक्षण सम्र्वद्धनका लाथि बजेट विनियोजनको माग गरेका हुन् ।
बजेट, नीति तथा कार्यक्रममा सबै विषय समेटिनु तर थारु समुदायको बाहुल्यता रहेको गाउँपालिकाले थारु लोक कला, साहित्य संरक्षण सम्बद्र्धनका लागि बजेट विनियोजन नगर्नु विडम्बनापूर्ण रहेको संयोजक चौधरीले बताएका थिए ।
कैलारी गाउँपालिकामा ९७ प्रतिशत जनसंख्या थारु समुदायको रहेको छ । तर गाउँपालिकाले उनीहरुको लोप हुँदै गईरहेको लोक कला, भाषा, संस्कृति संरक्षण तथा सम्बद्र्धन गर्न कुनै चासो नदेखाएको छैन’, उनले भने–‘यसका लागि गाउँपालिकाको नयाँ नेतृत्वले गम्भीरतापूर्वक सोच्नै पर्छ ।’
संयोजक चौधरीले थारु गुरुवा बैदावाले सर्पदंशका विरामीलाई दिने उपचार तथा उपचार पद्दतीको व्यवस्थापन गर्न जोड दिएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस कैलारी सभापति कृष्णप्रसाद चौधरीले पाँच बर्षको अवधिमा जनताको हितमा काम गर्न नव निर्वाचित जनप्रतिनिधीहरुलाई आग्रह गरेका थिए । साथै उनले गाउँपालिकामा बहुमुखी क्याम्पस लगायत स्वास्थ्यका लागि पनि विशेष ध्यान दिन आग्रह गरेका थिए ।


नेकपा एमालेकन तिर्थप्रसाद नेपालले मोहना नदीको कटानी पटानी नियन्त्रण र छोटी भन्सार पुनःस्थापनामा ध्यान दिन आग्रह गरेका थिए ।
राप्रापाका कैलाली जिल्ला अध्यक्ष होमबहादुर गुरुङले आफूहरुले प्रतिपक्षको भुमिकामा रहेकोले राम्रो काममा समर्थन गर्ने र गलत कदममा खबरदारी गर्ने बताएका थिए ।
सिएफसीसी हसुलियाका अध्यक्ष रमेश चौधरीले गाउँपालिकाले बनाउने कुनै पनि नीति तथा कार्यक्रममा सम्बन्धित निकायका पदाधिकारीलाई सहभागी गराउनु पर्ने, छाडा चौपायाको समस्या समाधान लगायत कृषि लाइन विस्तार गर्न जोड दिएका थिए ।
नेपाली काँग्रेसका पूर्व जिल्ला सहसचिव कलेशुराम चौधरी किसानहरुका लागि समयमा विउविजन, मलखादको व्यवस्था गर्न आग्रह गरेका थिए ।
वडा नम्बर ३ शिवरत्नपुरका कमल चौधरीले समयमा झोलुगे पुल निर्माण गर्न र १५ घरधुरी मोहना नदीको उच्च जोखिममा रहेकोले विशेष ध्यान दिन औंल्याएका थिए ।
कैलारी उद्योग बाणिज्य संघके अध्यक्ष नेपालु चौधरी हसुलिया बजार व्यवस्थापन तथा शौचालयको व्यवस्था, ढल निकास, हसुलिया बजारको ऐलानी प्रति जग्गाको नापनक्शांकन गर्न ध्यानाकार्षण गराएका थिए । साथै उनले कैलारी गाउँपालिकामा उत्पादन भएका वस्तुलाई बजारीकरण र छोटी भन्सार पुनःस्थापना गर्न आग्रह गरेका थिए ।
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले कार्यक्रममा उठेका मागहरुको सम्बोधन गर्ने बताएका थिए । उनले गाउँपालिका निर्माण गर्न सबैको साथ सहयोग चाहिने भएकोले सबैसंग समन्वय सहकार्य गरेर अघि बढ्ने बताएका थिए ।
उनले गाउँपालिकाको मुख्य समस्या सिँचाई र बाढी तथा डुबान रहेको बताएका थिए । उनले किसानहरुको लागि कृषि विद्युतीकरणको लागि आवश्यक पहल गरिरहेको बताएका थिए । कृषि क्षेत्रका लागि विद्युत विस्तार गर्न २ वटा टन्सफार्मर र २ सय वटा पोलका लागि उनले आवश्यक कदम पनि चालीसकेको बताएका थिए ।
अध्यक्ष चौधरीले बाल विकास शिक्षकहरुको तलब आगामी सावन महिना देखि १५ हजार व्यवस्था गर्ने, सडक बत्तीका लागि गाउँपालिकाबाट ३० लाख र विद्युत कार्यालयबाट २० लाख गरि ५० लाख बजेट विनियोजन गरेको समेत उनले जानकारी गराए थिए । अध्यक्ष चौधरीले थारु लोक कला भाषा संरक्षणका लागि आफू पनि संवेदनशील रहेको बताउँदै उनले त्यसको लागि पनि बजेट विनियोजन गर्ने बताएका थिए ।
वडा नम्बर ७ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले जनताहरुको आकांक्षा अनुसार ५० प्रतिशत भुमिकर छुट दिएको बताएका थिए । उनले सुकुम्बासी, भुमिहिनलाई लालपुर्जा वितरण गर्नका लागि आवश्यक प्रक्रिया पनि सुरु भएको जानकारी गराउँदै चाँडै नै लालपुर्जा वितरण गर्ने बताएका थिए ।
साथै उनले असोज कार्तिकमा आएको बेमौसमी बाढीबाट पीडित किसानहरुको खातामा पैसा पनि जमा गरिसकेको बताएका थिए ।
कार्यक्रममा सामाजिक विकास अधिकृत यगम कलेलले कैलारी गाउँपालिकाकाको आर्थिक वर्ष २०७८/०७९ भए गरेको गतिविधि र आगामी आ.व.२०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को असार २५ गतेसम्म कुल निकासा ६६ करोड ९० लाख ६८ हजार भएकोमा कुल खर्च ६० करोड ८१ लाख ५५ हजार भएको बताए । चालु आवमा ४५ वटा विवाद दर्ता भएकोमा ३७ वटा सहमति र ७ वटा प्रक्रियामा, एक वटा सहमति नभएको उनले बताए । उनले ११ वटा विद्येयक दर्ता भएकोमा ९ वटा पास समेत भएको जानकारी दिएका थिए ।
त्यसैगरी आर्थिक बर्ष २०७९/०८० का लागि गाउँपालिकाले विनियोजन रकम ५९ करोड २५ लाख २१ हजार र गैर सरकारी संघ संस्थाको कार्यक्रम ३ करोड ४९ लाख ९४ हजार सहित ६२ करोड ७५ लाख १५ हजार कुल बजेट रहेको बताएका थिए ।
कार्यक्रममा स्वागत तथा कार्यक्रम बारे जानकारी गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले गरेकी थिइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, गाउँपालिकाका १ देखि ९ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनीधि, संघ संस्थाका प्रतिनीधि, कैलारी गाउँपालिकाका स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम कैलारी गाउँपालिकाका आयोजना तथा सहजीकरण केर्नी मिडिया प्रालिले गरेको थियो । कार्यक्रमका सहजीकरण पत्रकार लखन चौधरीले गरेका थिए ।