धनगढी, १५ असार । कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्परोडको गुरही चोकमा गुरही(गाइने किरा)को प्रतिमा(मूर्ति) स्थापना गरिएको छ ।
थारु कल्याणकारिणी सभा, थारु लेखक संघ, सखी सञ्जालको अगुवाई तथा धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला रानाको विशेष उपस्थितिमा गुरही चोकमा गुरहीको मूर्ति राखिएको हो ।
धनगढीको क्याम्पस रोडस्थित गुरही चोकमा थारु समुदायले विगत २०६६ साल देखि सामुहिक रुपमा भव्यताका साथ गुरही पर्व मनाउँदै आएका छन् । गुरही चोकमा स्थापना भएको गुरहीको मूर्ति गुरही पर्वको अवसर पारेर अनावरण गर्ने थारु कल्याणकारिणी सभा कैलालीका पूर्व जिल्ला उपसभापति माधव थारुले बताए ।
उनले भने, ‘अहिले गुरहीको मूर्ति स्थापना गरियो । फिनिसिङ, रंगरोगन र घेरबारको काम बाँकी रहेको छ । सबै काम फिनिसिङ भएपछि गुरही पर्वको दिन त्यसको अनावरण गर्ने योजना रहेको छ ।’
मूर्ति स्थापना कार्यक्रममा नगर उपप्रमुख कन्दकला राना गुरही थारु समुदायको पहिचानसँग जोडिएको बताइन् । थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रिय सदस्य प्रभातकुमार चौधरी, धनगढी उपमहागरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष भुवन रिजाल, थारु कल्याणकारिणी सभाका धनगढी नगरसभापति सूर्य प्रसाद चौधरी, संखी संजालकी कार्यवाहक संयोजक उन्नती चौधरी गुरही चोकमा विगत २०६६ साल देखि सामुहिक रुपमा मनाउँदै आएको पर्व संस्थागत हुँदै पहिचान स्थापित कार्यमा महत्वपूर्ण भएको बताएका थिए ।
गुरहीको मुर्ति स्थापना कार्यक्रममा थारु कल्याणकारिणीसभा, थारु लेखक संघ, संखी सञ्जालका प्रतिनिधि, थारु बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । यस वर्ष गुरही पर्व सावन १३ गते रहेको छ ।