घोडाघोडी, २ असार । घोडाघोडी नगरपालिकाले स्थानीय पाठ्यक्रममा मानसिक स्वास्थ्यका विषयवस्तु समावेश गर्ने भएको छ ।
बढ्दो क्रममा रहेको मानसिक स्वास्थ्य समस्या बारे सचेतना एवं न्यूनीकरणका लागि नगरपालिकाले मानसिक स्वास्थ्यका विषयवस्तु समावेश गर्ने भएको हो । सोमबार घोडाघोडी नगरपालिका र सीएमसी–नेपालको साझेदारी एवं फेल्म नेपालको आर्थिक सहयोगमा सञ्चालनमा रहेको अप्रावासी कामदार र उनीहरुका परिवारका मानसिक स्वास्थ्य र मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजनाको परियोजना सल्लाहकार समितिको बैठकबाट उक्त विषयवस्तु समावेश निर्णय गरिएको हो ।
यसअघि नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम परिमार्जन गर्न लागिएकोले र पछिल्लो समय घोडाघोडी नगरपालिकामा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको संख्या बढीरहेकाले त्यसको न्यूनीकरण एवं विद्यालय तहबाट प्रचारप्रसार मार्फत सचेतना फैलाउने उद्देश्यले उक्त विषयवस्तु समावेश गर्ने भएको हो ।
उक्त कार्यक्रममा नगरप्रमुख खडक बहादुर रावत ले आर्थिक बर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेटमा मानसिक स्वास्थ्यको कुरा समावेश गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले आफु मानसिक स्वास्थ्य सवाल प्रति गम्भीर रहेको र मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको सामुदायिक पुर्नस्थापनाका लागि बिषयगत शाखाहरुसँगको समन्वयमा आयआर्जनमुलक कार्यक्रम जोड्न पनि बिषयगत शाखा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
त्यस्तै गरी उक्त परियोजना सम्झौता अनुरुप ३१ डिसेम्वर २०२५ मा परियोजना सकिने भएकाले उक्त परियोजनाको असल अभ्यासलाई कार्यन्वयन गरिने निर्णय समेत गरिएको छ । उक्त बैठकमा सीएमसी–नेपालका कार्यक्रम अधिकृत अनत चौधरीले परियोजना मार्फत जनवरीदेखि जुन २०२५ गरिएको क्रियाकलाप, उपलब्धी र बर्हिगमनको चरणमा गरिने भावी रणनीतिका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
बैठकमा सीएमसी–नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले मानसिक स्वास्थ्य नीतिको कार्यन्वयनका निम्ती मनोसामाजिक परामर्श सेवाको निरन्तरता, स्थानीय पाठ्यक्रममा मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आत्महत्या रोकथाम लगायतका विषयवस्तुलाई समेट्न र स्थानीय तहले कार्यक्रमका असल अभ्यासलाई अबलम्वन गर्न आवश्यक नीति, कार्यक्रम र बजेटका बारेमा आफ्नो सुझाव राखेका थिए ।
कार्यक्रम सञ्चालन घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले सञ्चालन गरेका थिए । बैठकमा वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझा, वडा नम्बर २ का वडा अध्यक्ष लक्ष्मी राज चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्णप्रसाद गौतम, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंह, महिला तथा बालबालिका शाखा प्रमुख इन्दु जोशी, मेडपा कार्यक्रमका फोकल पर्सन जुगिना चौधरी, स्वाबलम्वन समूहका अध्यक्ष सीताराम चौधरी, साथी सहयोगी स्वयंसेवक कल्पना चौधरी, मनोसामाजिक कार्यकर्ता सुशीला चौधरी लगायतको उपस्थीति रहेको थियो ।
सोही अवसरमा नगरप्रमुख खडक बहादुर रावत, प्रमुख प्रशासकिय अधिकृत शिव सिंह भण्डारी, वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंह, स्वास्थ्य शाखा प्रमुख कैलाश रावत, सीएमसी–नेपालका प्रतिनिधी लगायतको टोलीले कार्यक्रमको समुदाय स्थलगत अनुगमन समेत गरेका थिए ।