८ बैशाख २०८१, शनिबार April 20, 2024

लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१२ असार २०७९, आईतवार
लक्ष्मण थारू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाण्डौं । थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका लक्ष्मण थारु र लम्कीका व्यवसायीसमेत रहेका काँग्रेस नेता नेत्र जोशी रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
आज काठमाडौँमा आयोजित कार्यक्रममा दुवै जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । थारु र जोशीलाई नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराएकी हुन् ।
टीकापुर घटनामा मुछिएका भनिएका लक्ष्मण थारुलाई पनि रेशम चौधरीलाई झैँ उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको छ । उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन् । टीकापुर घटना राजनीतिक भएकाले आफूहरूले सफाइ पाउनुपर्ने रिट रेशम, लक्ष्मण थारु लगायतले सर्वोच्च अदालतमा पेश गरेका छन् ।
माओवादीले दाङदेखि कञ्चनपुरसम्म थारुवान प्रदेश घोषणा गरेको थियो । तर लेखराज भट्टले कैलाली, कञ्चनपुरलाई सेती महाकाली प्रदेशमा गाभ्नुपर्नेमा जोड दिएपछि त्यसमा असहमति जनाउँदै माओवादीको कैलाली जिल्ला इन्चार्ज रहेका लक्ष्मण थारुले २०६५ सालको सुरुमै पार्टी परित्याग गरेका थिए ।
त्यसपछि छुट्टै मोर्चा बनाएका लक्ष्मण थारुले पछि थरुहट तराई पार्टी नेपाल पार्टी गठन गरी अध्यक्ष भएका थिए । थरुहट तराई पार्टी नेपालको चुनाव चिन्ह त्यसबेला ढकिया थियो । रेशम चौधरी पत्नी रन्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह पनि अहिले ढकिया रहेको छ । गएको स्थानीय चुनावमा नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवारलाई भोट मागे पनि लक्ष्मण थारु पार्टी प्रवेश भने गरेका थिएनन् ।