७ फाल्गुन २०८१, बुधबार February 19, 2025

खाद्य ऐन प्रतिकूल कार्य गर्ने विरुद्ध मुद्धा दायर

२४ जेष्ठ २०७९, मंगलवार
खाद्य ऐन प्रतिकूल कार्य गर्ने विरुद्ध मुद्धा  दायर

कैलाली । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय कैलालीले खाद्य ऐन प्रतिकूल कार्य गर्ने विरुद्ध १४ वटा मुद्धा दायर गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को ९ महिनाको अवधिमा खाद्य ऐन प्रतिकूल कार्य गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यलयमा मुद्धा दायर गरेको हो ।
जिल्लाको विभिन्न ठाउँमा सञ्चालित खाद्य उद्योग तथा प्रोडक्ट्स हाउसहरुमा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर पाइएकोले मुद्धा दायर गरिएको जनाइएको छ । धनगढीमा सञ्चालित मःम उद्योग धनगढी, फाष्टफुड उद्योग धनगढी, थापा चाउमिन उद्योगमा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर पाइएको हो ।


त्यसैगरि हरि बेकरी उद्योग, रोहित पाउरोटी उद्योग कैलारी, गोलादेउ फुड प्रोडक्ट्स गोदवारी, पाण्डेय फुड प्रोडक्ट्स गोदावरी, विशाल पाउरोटी, सदिक्षा फुड प्रोडक्ट्स लम्की विरुद्ध मुद्धा दायर भएको हो । उद्योगबाट उत्पादन गर्ने मःम, क्रिम विस्कुट, खस्ता, चाउमिन, पाउरोटी, चाउमिन लगायत खाद्य बस्तुमा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर पाइएकोले मुद्धा दायर भएको कार्यालय प्रमुख नवराज दाहालले बताए ।
यसैगरि खाद्य तथा दाना एने अनुरुप संकलन गरिएका नमूनामध्ये प्रतिकूल पाइएका ३२ नमूनाको कारवाही प्रक्रिया अगाडी बढाइएको छ ।
यसैबिच कार्यालय कैलालीले साप्ताहव्यापी कार्यक्रम गरि खाद्य स्वच्छता दिवस मनाएको छ । चौधौ राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७९ तथा चौथो खाद्य स्वच्छता दिवस २०२२ (जुन १ देखि ७) सम्म विभिन्न कार्यक्रम गरि मनाएको हो ।
दिवसको अवसरमा कार्यालय परिसरमा सरसफाई तथा कार्यलय परिसरमा खाद्य स्वच्छता तथा पोषण सम्बन्धि फ्लेक्स ब्यानर टास गरेको छ । त्यसैगरि गर्मीयाममा हुने फुड पोइजनबाट बच्नका लागि उपभोक्ताले अपनाउनु पर्ने सावधानीबारे प्रचार प्रसार, खाद्य पदार्थ खरीद गर्दा अपनाउनु पर्ने सावधावी, होटल तथा रेष्टुरेन्टमा खानेकुरा खाँदा उपभोक्ताले अपनाउनु पर्ने सावधानीबारे प्रचारप्रसार गरेको छ ।
साथै कार्यालयले आज मंगलबार सरोकारवाला निकायबिच कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागी सरोकारवाला निकायका पदाधिकारीहरुले खाद्य स्वच्छतामा विशेष जोड दिएका थिए । साथै उनीहरुले बजार अनुगमन तथा खाद्य सुरक्षामा उपभोक्ताले विशेष ध्यान दिनु पर्ने औल्याएका थिए ।