धनगढी, २३ बैशाख । बर्दियाको नेम्स क्लब कैलालीको कैलारी गाउँपालिकामा भईरहेको ‘छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ को फाईनलमा प्रवेश गरेको छ । श्री युवा जनहित क्लबको आयोजनामा वैशाख १७ गतेदेखि भईरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा जित हात पार्दै नेम्स क्लब उपाधि भिडन्तमा पुगेको हो ।

कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको खेल मैदानमा भएको पहिलो सेमिफाईनलमा नेम्सले संघर्ष युवा क्लब मालाखेतीलाई टाईब्रेकरमा ३–० ले हराउँदै फाईनलको यात्रा तय गरेको हो । यसअघि निर्धारित समयमा दुबै टोलीले दुई दुईको बराबरी खेलेका थिए । फाईनल पुगेको नेम्सले अब उपाधिका लागि आयोजक श्री युवा जनहित क्लब र भजनी युवा क्लब बीच हुने दोस्रो सेमिफाईनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर, धनगढी रहेको छ भने कैलारी गाउँपालिका मुख्य प्रवद्र्धकका रूपमा रहेको छ । साथै विभिन्न संघसंस्था तथा निजी व्यावसायिक फर्महरूले समेत प्रायोजन तथा प्रवद्र्धनमा सहयोग गरेका छन् ।
थारु समुदायको लोप हुँदै गएको मौलिक लोक पर्व तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भजहर पर्वको अवसरमा हरेक वर्ष प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगितासँगै थारु समुदायका परम्परागत खेलहरू पनि सञ्चालन गरिएछन् ।