धनगढी, १५ जेठ । यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिमाथि परिवार र समाजको असमान व्यवहार अझै पनि कायम रहेको बताइएको छ ।

यौनिक अल्पङ्ख्यक समुदायको सवालमा मिडियाको भूमिका सम्बन्धि छलफल कार्यक्रम सो कुरा बताइएको हो । यौनिक अल्पसङ्ख्यक समुदायको सवालमा पैरवी गर्दैआएको एकता नेपालको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा उक्त समुदायका व्यक्तिले संविधानप्रदत्त अधिकार उपभोग गर्न पनि थुप्रै समस्याको सामना गर्नु परिरहेको भन्दै आफ्नो सवाल उठाइ दिन सञ्चार माध्यमलाई आग्रह गरेका छन् ।
एकता नेपालका कार्यकारी निर्देशक राज चौधरीले यौनिक अल्पसङ्ख्यक समुदायले थुप्रै चुनौती भोगिरहेको बताए । उनले यौनिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिले कानुनी मान्यता र अधिकार, नागरिकता र लैंगिक पहिचान, सामाजिक भेदभाव, स्वास्थ्य सेवामा पहुँच र शिक्षा र रोजगारी, ज्यालामा धेरै समस्या र चुनौती झेल्नु परेको बताए । साथै उनले उक्त समुदायका व्यक्तिले पैतृक सम्पत्तिबाट पनि बञ्चित भइरहेको बताए ।
त्यस्तै, चर्पी प्रयोगमा पनि विभिन्न समस्या उत्पन्न भइरहेकाले शौंचालयहरुमा महिला, पुरुष शौचालय लेख्नुभन्दा पनि लैङ्गिकमैत्री शौंचालय लेख्नु पर्ने सो समुदायको जोड छ । आफैलाई बुझ्न नसक्नू र समाजको व्यवहारका कारण यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्तिमा मानसिक समस्या बढ्दो रहेको जनाइएको छ ।
नेपालको संविधानको धारा १२ मा यौनिक अल्पङ्ख्यक समुदायको नागरिकता र धारा १८ मा समानताको हकको व्यवस्था गरिएको छ । तर, नागरिकता बनाउन जाँदा शरीर नङ्ग्याउनेजस्तो व्यवहार हुने गरेको चौधरीले गुनासो गरे ।
एकता नेपालका अध्यक्ष कृत्तिका चौधरीले यौनिक अल्पसङ्ख्यक समुदायको व्यक्तिलाई स्थानीय र प्रदेश सरकारले लक्षित वर्गको कार्यक्रममा समेट्न आवश्यक रहेको बताइन् ।