५ बैशाख २०८३, शनिबार April 18, 2026

बेहडाबाबा मन्दिरमा जेठ २१ गतेदेखि गंगा दशहरा मेला

५ जेष्ठ २०८२, सोमबार
बेहडाबाबा मन्दिरमा जेठ २१ गतेदेखि गंगा दशहरा मेला

धनगढी, ५ जेठ । धनगढी उपमहानगरपालिका–१६ रामपुरमा अवस्थित बेहडाबाबा मन्दिरमा यही जेठ २१ गतेदेखि २५ गतेसम्म गंगा दशहरा पूजा तथा धार्मिक मेला आयोजना हुने भएको छ।
हरेक वर्ष जेठ महिनाको शुक्लपक्ष दशमीका दिनदेखि लाग्ने यो मेलामा नेपालसहित भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालुहरू आउने गर्दछन्। मेलाको सफल आयोजना तथा व्यवस्थापनका लागि बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समिति सक्रिय भएको छ।


मेलाका लागि विभिन्न उपसमितिहरू गठन गरिएको जनाइएको छ। सेवा समितिका सचिव वीरेन्द्र चन्दको संयोजकत्वमा खानेपानी तथा विद्युत व्यवस्थापन समिति, सदस्य कृष्ण चन्द रानाको संयोजकत्वमा मेस व्यवस्थापन समिति, र उपाध्यक्ष नरेन्द्र शाहको संयोजकत्वमा मन्दिर पूजा तथा लाइन व्यवस्थापन समिति गठन गरिएको छ।
त्यसैगरी, उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामलाल चौधरीको संयोजकत्वमा अनुगमन तथा सुरक्षा व्यवस्थापन समिति, सदस्य रमेशप्रसाद भट्टको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र सदस्य तिलक बहादुर बोहराको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको छ।
गंगा दशहरा मेला २०८२ लाई सभ्य र व्यवस्थित बनाउने उद्देश्यले चार किल्ला क्षेत्र निर्धारण गरिएको छ । उत्तरमा इमली चोक, दक्षिणमा ब्योसाहा चोक र उर्मा जंगल, पूर्वमा कुण्डी टोल र पश्चिममा शिवगंगा नदी ।
मेलाको अवधिभर उक्त चार किल्ला भित्र माछा, मासु तथा मदिराजन्य वस्तुहरू अस्थायी टहरामा विक्रि वितरण गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । नियम उल्लङ्घन गरेमा सम्बन्धित व्यवसायीलाई १० हजार रुपैयाँ जरिवाना तथा सामान जफत गरिने निर्णय गरिएको छ । त्यस्तै, मेला क्षेत्रमा मादक पदार्थ वा लागुऔषध सेवन गरी झैझगडा वा होहल्ला गर्नेहरूमाथि ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।
मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष खेमबहादुर चन्दले गंगा दशहरा मेला–२०८२ लाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मेलामा सबैको सहभागिता र सहयोगको अपेक्षा व्यक्त गरे ।