धनगढी । कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै भवन निर्माण स्थलमै सांकेतिक विरोध स्वरुप उपचार तथा चेकजाँच गरिएको छ ।
नागरिक अगुवा तथा आन्दोलनरत समुहले शुक्रबार कैलालीको गेटा स्थित प्रस्तावित मेडिकल कलेज परिसरमै विरोध स्वरुप बिरामी जाँच गरेका हुन्। बिरामी उपचारको लागि डाक्टर सहितको टोली त्यहाँ पुगेको थियो।
बिहिबारबाट सञ्चालन भएको धनगढीमा हस्ताक्षर अभियान शुक्रबार पनि जारी छ।
पूर्वाधार निर्माणको काम ९० प्रतिशत पुरा भइसक्दा समेत मेडिकल कलेज सञ्चालनका लागि सरकारले कुनै योजना नल्याएको भन्दै नागरिक समाज, राजनीतिक दल तथा अन्य सरोकारवाला निकायले धनगढीमा हस्ताक्षर अभियान सञ्चालनसँगै विरोधका विभिन्न कार्यक्रम गरिरहेका छन् ।
बिहिबार नै कैलालीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाईएको छ ।
सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको र तत्काल सञ्चालनका लागि नागरिक दबाब समूह धनगढीले आन्दोलन स्वरुप हस्ताक्षर लगायत दवाव मुलक कार्यक्रक सञ्चालन गरिरहेको सेती प्रादेशिक अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेश बहादुर सिंहले बताए । उनका अनुसार शुक्रबारनै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाइने छ भने ४ बजे धनगढीको मुख्य सडक स्थित एलएन चोकमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम तय भएको छ ।
जेठ १३ गते बिहान ८ बजे गेटा मेडिकल कलेजमा सांकेतिक विरोध स्वरुप नागरिक स्तरबाट स्वास्थ्य सेवा परीक्षण गर्ने कार्यक्रम रहेको दबाब समूहले जनाएको छ ।
गेटा मेडिकल कलेज सञ्चालन गरिनु पर्ने माग राख्दै कैलालीको अत्तरियामा गठित मेडिकल कलेज सञ्चालक संघर्ष समितिले बुधबार देखि नै आन्दोलका कार्यक्रम अघि बढाईसकेको छ ।