४ बैशाख २०८३, शुक्रबार April 17, 2026

हुलाकी राजमार्ग बन्यो दुर्घटनाको हटस्पट, एक वर्षमा ६५ जनाले गुमाए ज्यान

३० चैत्र २०८२, सोमबार
हुलाकी राजमार्ग बन्यो दुर्घटनाको हटस्पट, एक वर्षमा ६५ जनाले गुमाए ज्यान

धनगढी, चैत २९ गते । ग्रामीण क्षेत्रको लाइफलाइन मानिएको हुलाकी राजमार्ग दुर्घटनाको ‘हटस्पट’ बनेको छ।
ग्रामीण क्षेत्रलाई विभिन्न सदरमुकाम र व्यापारिक केन्द्रसँग जोडेको यो सडकमा महिनैपिच्छे दुर्घटनामा मान्छेले ज्यान गुमाइरहेका छन् । शनिबारमात्रै कैलालीको कैलारी गाउँपालिका–१ स्थित सो राजमार्गमा बोलेरो पिकअप जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९, फूलबारीका २२ वर्षीय राममिलन चौधरीको ज्यान गएको छ ।


गत चैत ८ गतेमात्रै पवेराका ६० वर्षीय कलेसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सीतरानी चढेको गोरुगाडालाई ट्रकले ठक्कर दिँदा दुवै जनाको ज्यान गएको थियो । गोरुगाडा चढेर आफ्नो गन्तव्यतर्फ गइरहेका चौधरी दम्पतिलाई पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो ।
कैलालीको कैलारी गाउँपालिका–५, बैजपुर नजिक हुलाकी राजमार्गमा दुर्घटना भएको थियो । गत फागुन ५ गते पनि इलाका प्रहरी कार्यालय हसुलिया नजिकै हुलाकी राजमार्गमा कैलारी–७ का वडाध्यक्ष दीपेन्द्र बमले चलाएको गाडीले महिलाको ज्यान लिएको थियो । नियन्त्रण गुमाएको भे. १ च. ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडीले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दियो । ठक्करबाट मोटरसाइकल चालक कैलारी–५ की ३० वर्षीया ईप्सा चौधरीको घटनास्थलमै ज्यान गएको थियो ।


राजमार्ग बने पश्चात तीव्र गतिमा गुड्ने सवारी साधनका कारण थुप्रैले ज्यान गुमाइरहेका छन् । ग्रामीण क्षेत्रका जनता र उनीहरूका उत्पादनलाई बजारसँग जोडेको यो राजमार्ग सुरक्षाको सवालमा भने चिन्ताजनक बनिरहेको छ । विशेष गरेर कैलारी गाउँपालिकाको क्षेत्रमा बढी दुर्घटना भइरहेका छन् ।
डेढ दशकयता कालोपत्रे भई राम्रो भएको हुलाकी राजमार्ग पछिल्लो समय स्तरोन्नति हुँदै जाँदा दुर्घटना झन भइरहेका छन् । यो राजमार्गमा कैलारी गाउँपालिका, भजनी नगरपालिकाको पुरै क्षेत्र र टीकापुर नगरपालिका, धनगढी उपमहानगरपालिकाको पनि धेरैजसो क्षेत्रमा सडक बत्ती छैन । राति अँध्यारो रहेका कारण तीव्र गतिका सवारी साधनहरू ठोक्किने, मान्छे, गोरुगाडालाई ठक्कर दिने जस्ता घटना बढ्न थालेको स्थानीयको भनाइ छ । उनीहरूले हुलाकी राजमार्ग ज्यानमारा बनिरहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरण गर्न आवाज उठाएका छन् ।
कैलारी गाउँपालिकाको मुख्य सडकका साथै सवारी साधन धेरै चल्ने हुलाकी राजमार्गमा सडक बत्ती जडान भएमा सडक दुर्घटना रोकथाममा सहयोग पुग्ने कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका दयाराम चौधरीले बताए । उनले बत्ती जडान भएमा अन्य सुरक्षामा पनि सहयोग पुग्ने भन्दै गाउँपालिकाको कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को हालसम्म कैलालीमा २९५ सवारी दर्घटना भएका छन् । जसमा ६५ जना व्यक्तिको मृत्यु भएको छ भने ४६६ जना घाइते भएका छन् । धेरैजसो दुर्घटना हुलाकी राजमार्गमा भइरहेको जनाइएको छ ।
हुलाकी राजमार्गको सबै क्षेत्रमा सडक बत्ती नहुनु र लापरवाहीपूर्वक सवारी साधन चलाउने कारणले हुलाकी राजमार्गमा दुर्घटना घटिरहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख चक्र देउवाले बताए । “हालसालै बनेको कालोपत्रे सडक रहेकाले धेरै तीव्र गतिमा सवारी साधन कुदाउने गरेको देखिएको छ”, उनले भने,“सुरक्षा निकाय र सिभिल नागरिक मिलेर दुर्घटना न्यूनीकरणको प्रयास अगाडि बढाउन जरुरी छ ।”

गोरखापत्रबाट