६ बैशाख २०८२, शनिबार April 19, 2025

कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सन्तोष विजयी

२८ चैत्र २०८१, शुक्रबार
कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सन्तोष विजयी

धनगढी, २९ चैत । कैलाली बहुमुखी क्याम्पस (केएमसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका सन्तोष पन्त विजयी भएका छन् ।
उनले ८२७ मत ल्याएर विजयी भएका हुन् । पन्त वर्तमान स्ववियु सचिव पनि हुन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका पवन सुनारले ५५८ मत पाए भने वर्तमान स्ववियु सभापतिसमेत रहेका अनेरास्ववियुका यमराज जोशीले ४२७, एकीकृत समाजवादी निकट अनेरास्ववियूले सुनिलराज जोशीले ६८ र नेविसङ्घकी बागी उम्मेदवार अम्बिका चौधरीले ९२ मत पाइन् ।
सचिवमा नेविसङ्घ र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । स्ववियु सचिवमा नेविसंघबाट ओमप्रकाश वस्ती र कोषाध्यक्षमा धर्मराज तिमल्सिना विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघकी प्रमिला शाह चार मतले पराजित भइन् । तीन हजार पाँच सय बढी मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा २७ गते भएको मतदानमा दुई हजार ५७ मत खसेको थियो ।
कैलाली बहुमुखी क्याम्पसमा अहिलेसम्म १४ जना स्ववियु सभापति निर्वाचित भएका छन् । त्यसमा सात जना नेविसङ्घ, दुई जना नेविसङ्घकै बागी र पाँच जना अनेरास्ववियुका छन् । सुदूरपश्चिमकै सर्वाधिक विद्यार्थी अध्ययन गर्ने कलेजका रूपमा रहेको उक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ भने ३४ वर्षपछि विजयी भएको हो ।
०४७ सालअघिका सबै निर्वाचनमा भने नेविसङ्घ नै विजयी भएको थियो । ०३८ सालमा नेविसङ्घकै धर्मबहादुर सिंह क्याम्पसको पहिलो स्ववियु सभापतिका रूपमा निर्वाचित भएका थिए । ०३९ सालमा बरबहादुर ठकुल्ला, ०४० सालमा टीकाराम खनाल, ०४१ सालमा पदम विष्ट, ०४३ सालको मेघराज खड्का र ०४४ सालमा धर्मराज भण्डारी सभापतिमा निर्वाचित भएका थिए । उनीहरू सबै नेविसङ्घका उम्मेदवार थिए ।
०५१ सालमा भएको निर्वाचनमा भने पहिलो पटक अनेरास्ववियुले बाजी मारेको थियो । नेविसङ्घका प्रमोद पाठकलाई पराजित गर्दै अनेरास्ववियुका टेकबहादुर चन्द स्ववियु सभापतिमा विजयी भएका थिए । अन्य पदमा भने नेविसङ्घकै उम्मेदवार विजयी भएका थिए । ०५७ साल यताका सबै निर्वाचनमा स्ववियु सभापतिमा अनेरास्ववियु विजयी भएको थियो । ०५७ सालमा डेजी पाण्डे, ०६१ सालमा यज्ञराज ढुंगाना, ०७३ मा चुडामणि भट्ट र ०७९ मा यमराज जोशी सभापतिमा निर्वाचित भएका थिए ।