धनगढी, २४ चैत । कैलालीको धनगढी स्थित स्वस्तिक अस्पतालले क्याथ ल्याब र आइभीएफ सेवा दिने तयारी थालेको छ ।
आइतबार अस्पतालले आयोजना गरेको पत्रकार बीच अन्तरक्रिया कार्यक्रममा अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले उक्त सेवा बारे जानकारी दिएका हुन् । पन्ध्र शैय्यामा सञ्चालन हुँदै आएको अस्पताललाई नयाँ व्यवस्थापन सहित एकसय शैय्यामा विस्तार गरेको जानकारी गराउँदै उनले अस्पतालबाट क्याथ ल्याब र आइभीएफ सेवा पनि दिने जानकारी गराए । अस्पतालले मुटुका बिरामीका लागि लक्षित गर्दै पहिलो पटक क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउन तयारीमा जुटेको हो ।
उनले भने, ‘मुटुका बिरामीका लागि अति आवश्यक पर्ने भएकाले अस्पतालले क्याथ ल्याब सञ्चालन गर्ने तयारीमा रहेको छ, यसले सुदूरपश्चिमका मुटु सम्बन्धी रोगका बिरामीलाई उपचारमा सहजता हुनेछ ।’
‘अस्पतालमा मुटुको उपचारका लागि आएका बिरामीलाई क्याथ ल्याब छैन भन्दै बाहिर अस्पतालमा पठाउनु पर्ने अवस्था भएकाले अस्पतालमै सेवा विस्तार गर्न लागेका अर्का सञ्चालक श्याम भट्टले बताए ।
उनले अस्तालमा क्याथ ल्याब भएपछि मुटुका बिरामीलाई सहज रुपमा सेवा दिन सकिने बताए । क्याथ ल्याब सेवा नहुँदा यहाँका बिरामीलाई काठमाण्डौं लगायतका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको अस्तालले जनाएको छ ।
यसै गरि निःसन्तान दम्पतीमा लागि अस्पतालले आईभीएफ केन्द्र सञ्चालन गर्ने जनाएको छ । विगतमा आईभीएफ शिविर सञ्चालन गर्दै आएको अस्पतालले पुर्णकालिन आईभीएफ केन्द्र सञ्चालन गर्न लागेको हो । जुन सुदरपश्चिममा पहिलो हुने अस्पतालले दाबी गरेको छ ।
अस्पतालमा अहिले २४ घण्टै इमर्जेन्सी सेवा, जनरल मेडिसिन विशेषज्ञ सेवा, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा सौन्दर्य रोग विशेषज्ञ सेवा, मुटुरोग विशेषज्ञ सेवा, रेडियोलोजी विशेषज्ञ सेवा, नाक, कान, घाटी रोग विशेपज्ञ सेवा, डेन्टल केयर विशेषज्ञ सेवा, फिजियोथेरापी सेवा, प्रयोगशाला, एक्सरे तथा अल्ट्रासाउण्ड सेवा, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी विशेषज्ञ सेवा, युरो सर्जरी विशेषज्ञ सेवा, न्युरो सर्जरी विशेषज्ञ सेवा उपलब्ध रहेको छ ।
अध्यक्ष तिवारीका अनुसार अस्पतालभित्र उच्चस्तरीय प्रविधि जडित शल्यक्रिया कक्ष, आईसीयू, एनआईसीयू तथा प्रसूति कक्षको व्यवस्था गरिएको छ । गुणस्तरीय औषधि र अनुभवी फर्मासिस्ट सहितको फार्मेसीको व्यवस्था, सेवाग्राहीको सहजताका लागि चिसो–तातो मौसमअनुसार आवश्यक सबै स्थानमा एसी जडित सरचना र स्तरीय एम्बुलेन्सको व्यवस्था अस्पतालले गरेको उनले बताए । उल्लेखित सेवासुविधाका लागि अस्पतालमा पूर्णकालीन र आंशिक गरी चिकित्सकीय जनशक्ति २४ सै घण्टा उपलव्ध रहेका छन् ।
अस्पतालमा सुदूरपश्चिम प्रदेश भरीकै सरकारी तथा निजी अस्पतालमा पहिलो मोडुलर ओटी रहेको छ । जुन ९९% संक्रमणरहित हुन्छ ।
अस्पतालले विभिन्न विश्वविद्यालय एवम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) वाट सम्बन्धन लिई आगामी शैक्षिक सत्रवाट नर्सिङ तथा अन्य मेडिकल कोर्सहरूको पढाइ समेत गरिने जानकारी दिएको छ ।
अस्पताललाई वृहत् स्वास्थ्य उपचार र चिकित्सा शिक्षाको केन्द्रका रूपमा विकास गर्दै लगिने योजना अनुसार निकट भविष्यमै आमा सुरक्षा कार्यक्रम, निःशुल्क विमा कार्यक्रम, नागरिक लगानी कोप र सामाजिक सुरक्षा कोषमा आबद्ध व्यक्तिहरुका लागि विशेष सुविधा सहितको योजना लागु गर्ने अध्यक्ष तिवारीले बताए ।
अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण क्षेत्रमा विज्ञ चिकित्सक सहितको टीमबाट विगतमा सञ्चालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविरलाई परिस्कृत गरी थप प्रभावकारी बनाउने योजना बनाएको उनले बताए । अस्पतालमा आएका विरामीको रोग पहिचान, उपचार, औष्धि र नियमित चेकजाँचलाई सहूलियतपूर्ण बनाउदै बिरामी, डाक्टर र अस्पतालको सम्बन्धलाई सुमधुर बनाउन प्रतिबद्ध रहेको अध्यक्ष तिवारीले जानकारी दिए ।
यसका साथै आधारभूत विशेषज्ञ स्वास्थ्य सेवाका लागि भारततिर जानुपर्ने बाध्यताको अन्त्यका लागि स्वस्तिक अस्पतालको सेवाले योगदान गर्ने उनको विश्वास रहेको छ ।