धनगढी, ६ वैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको रुपमा एकीकृत समाजवादी नेता दीर्घबहादुर सोडारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सोडारीलाई बिहीबार साँझ मुख्यमन्त्री पदमा नियुक्त गरेसँगै सपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री सोडारीलाई सङ्घीय सरकारको समीकरणमा भएका दल नेकपा (एमाले) १०, नेकपा (माओवादी केन्द्र) १०, नेकपा (एकीकृत समाजवादी) चार, नागरिक उन्मुक्तिका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरेर २७ जनाको समर्थन रहेको छ । सो संख्या सुदूरपश्चिम प्रदेश सभाको प्रदेश सभाको बहुमत हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना रहेका छन् ।
सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत नपाउने भएपछि चैत २२ गते पदबाट राजीनामा दिएका थिए ।