१७ बैशाख २०८१, सोमबार April 29, 2024

मुख्यमन्त्रीका लागि लक्ष्मण र कैलाशद्वारा पेश गरिएको दाबी खारेज

४ बैशाख २०८१, मंगलवार
मुख्यमन्त्रीका लागि लक्ष्मण र कैलाशद्वारा पेश गरिएको दाबी खारेज

धनगढी, ४ बैशाख । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुबै दाबी अस्वीकृत गरेका छन् । एउटै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि सुदूरपश्चिममा प्रदेश प्रमुखले दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका छन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा आईतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर दुई दिनपछि प्रदेश प्रमुख मियाँले दुबै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका हुन् ।


मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिबाटै २ जनाको दाबी परेपछि प्रदेश प्रमुख मियाँले दलहरुसँग अध्ययनका लागि २ दिनको समय मागेका थिए । नागरिक उन्मुक्तिकै दुई जनाको दाबी परेको र उसको ७ जनाको समर्थन लक्ष्मणकिशोरलाई हो वा कैलाशलाई भन्ने कुराको स्पष्टता नभएकाले प्रदेश प्रमुख नजिर मियाँले दुबैको दाबी खारेज गरी बैशाख ६ गते विहीबार बेलुकी ५ बजेसम्म स्पष्ट बहुमत खुल्ने गरी मुख्यमन्त्रीमा दाबी पेश गर्न सूचना जारी गरेका छन् ।
प्रदेश प्रमुख मियाँले बैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२)अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका हुन् । संविधानको धारा १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्ने प्रावधान छ ।

यसअघि प्रदेश प्रमुख मियाँले बैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्ने समय तोकेका थिए । बैशाख २ गते सत्ता गठबन्धनलाई चुनौती दिदै काँग्रेसका १८, समाजवादीका ४, राप्रपाका १ र नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
त्यस लगत्तै नागरिक उन्मुक्तिकै कैलाश चौधरीले पनि माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ जना र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।