धनगढी । धनगढी उपमहानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले उम्मेदवारी दर्ता गरेका छन् । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्ता गर्दै हमालले बाँडीचुँडी खाने प्रवृतिका विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए । ‘जनताले गठबन्धन गरेकै छैनन्,’ उनले भने, ‘गठबन्धन नेताहरुले गरेका हुन् । गठबन्धन समाज बनाउनका लागि होइन । बाँडीचुँडी खानका लागि हो । त्यसका विरुद्ध मेरो उम्मेदवारी हो । धनगढीका जनताले राखेको चाहनाको प्रतिनिधि पात्र म हुँ ।’
उम्मेदवारी दर्ता गराउन हमाल बाजागाजा र र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने मूलमन्त्रका साथ हमालले फागुन १९ गते धनगढीको मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए ।
उम्मेदवारी घोषणा सँगै उनले मेयरमा विजयी भए सेवा सुविधाको नाममा धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ पनि नलिने घोषणा गरिसकेका छन् । उनले धनगढी उपमहानगरपालिकाको गाडी पनि नचढ्ने घोषणा गरेका छन् ।
०७४ सालको चुनावमा पनि हमाल मेयर पदमा स्वतन्त्र उम्मेदवार थिए । त्यतिबेला हमाल ११ हजार ५ सय २७ मत ल्याएर दोस्रो भएका थिए । उनी काँग्रेसका नृपबहादुर वडसँग दुई हजार सात सय मतले पराजित भएका थिए ।