कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनाबारे सरकारसँग गम्भिर भएर कुराकानी गर्ने बताएका छन् । कैलालीको मसुरियामा आयोजित पार्टी ध्रुवीकरण तथा प्रवेश कार्यक्रममा बोल्दै टीकापुर घटनाले थारु समुदायमा ठूलो असर परेको भन्दै सरकारसँग गम्भिर भएर कुराकानी गर्ने बताएका हुन ।
‘मलाई थाहा छ टीकापुर घटनाले थारु समुदायमा निकै ठुलो असर परेको छ’ उनले भने,‘मैले रेश्मलाई भारतमा भेटेको थिए । रेश्मलाई भेट्दा ठूलै विरोध भएको थियो । मैले रेश्मलाई भेट्न किन नहुने ? म बाहिर पनि भेट्छु । हिजोमात्र मेरो सचिवालयले उहाँलाई भेटेर कुराकानी पनि गरेको थियो । उहाँको समस्या समाधान गर्न म सरकारसँग भोली नै सिरियस भएर कुराकानी गर्ने छु ।’
अध्यक्ष दाहालले सुदूरपश्चिमको राजनीतिक मात्र नभई आर्थिक र सामाजिक विकासमा पनि आफ्नो जोड रहेको बताए । ‘यहाँको विश्व विद्यालयको कुरा होस् वा सुख्खा बन्दरगाहको कुरा होस् । जलविद्युतका आयोजनाहरु अघि बढाउने कुरा होस् । हाम्रै पालामा सबैभन्दा बढी काम भएको छ’ उनले भने,‘देश शान्ति प्रक्रियामा आइसकेपछि म सबैभन्दा बढी यहि सुदूरपश्चिम प्रदेशमा बढी भ्रमण गरेको छु । यहाँको समग्र विकास नभएसम्म म शान्त भएर बस्दैन । मलाई सबैभन्दा बढी विकासको चिन्ता यतैको रहेको छ ।’