८ बैशाख २०८३, मंगलवार April 21, 2026

सुदूरपश्चिमको विकासका लागि तल्लीन रहने छु : चन्द

२७ फाल्गुन २०८२, बुधबार
सुदूरपश्चिमको विकासका लागि तल्लीन रहने छु : चन्द

धनगढी, २७ फागुन । कैलाली क्षेत्र नम्बर ५ बाट नवनिर्वाचित प्रतिनिधी सभा सदस्य डा. आनन्द बहादुर चन्दले मतदातालाई धन्यबाद व्यक्त गरेका छन् । उनले बुधबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा परिवर्तन चाहेका सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गरेका हुन् । उनले कैलाली क्षेत्र नम्बर ५ बाट ३१ हजार ९५३ मत ल्याएर विजयी भएका छन् । विजयी भएर आफू उत्साहित भएसँगै थप जिम्मेवार बन्नु पर्र्ने महसुस भएको बताए । उनले उक्त मतलाई बैंकको ऋण जस्तै मानेको बताए ।
उनले भने, ‘अहिले सम्मकै कैलाली क्षेत्र नम्बर ५ मा अध्यधिक मत मैले प्राप्त गरेको छु, यसलाई मैले कैलालीबासी सम्पूर्णलाई जो परिवर्तनलाई साथ दिएको र यो मतले विजयी भएर उत्साहित भएको छु, सँगसँगै यो मतबाट थप जिम्मेवार बन्नुपर्छ भन्ने महसुस गरेको छु ।’
उनले अगाडी थपे, ‘यसलाई मैले बैंकको ऋण जस्तै मानेको छु, जति धेरै मत त्यति धेरै ऋण जस्तै जति धेरै ऋण त्यति धेरै जिम्मेवारीको रुपमा लिएको छु । र म यो ऋण वैंकको ऋण सम्झेर आफ्नो इमान्दार प्रयास गर्न कैलाली मात्रै हैन सुदूरपश्चिम विकासका लागि तल्लीन रहने छु । साथ साथै देशको नीति निर्माणमा, देशको विकासका लागि, सुशासनका लागि र भ्रष्टाचार नियन्त्रणमा योगदान पु¥याउने अठोट लिएको छु ।’
सोहीक्रममा प्रतिनिधिसभा सदस्य डा. चन्दले गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । उनले सुदूरपश्चिमको स्वास्थ्य तथा शैक्षिक विकासका लागि विश्वविद्यालय सञ्चालन अत्यन्त आवश्यक रहेको बताए । उनले सबैभन्दा पहिले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पहल सुरु गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले विश्वविद्यालय सञ्चालनसँगै सेती प्रादेशिक अस्पताललाई पनि विश्वविद्यालयको मातहतमा ल्याएर विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । यसले सुदूरपश्चिमका नागरिकले उपचारका लागि अन्य प्रदेश वा भारतसम्म धाउनु पर्ने बाध्यता कम हुने विश्वास उनले व्यक्त गरे । प्रतिनिधी सभा सदस्य चन्दले स्वास्थ्यसँगै शिक्षा, कृषि, पर्यटन लगायतका क्षेत्रलाई पनि विकासको प्रमुख आधारका रूपमा अघि बढाउने बताए । उनले कृषि क्षेत्रलाई आधुनिकिकरण गर्दै स्वदेशी उत्पादन बढाउने, कृषकलाई प्रविधि र बजारसँग जोड्ने तथा कृषि प्रणालीलाई व्यवसायिक बनाउने दिशामा काम गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै सुदूरपश्चिम प्रदेशका महत्वपूर्ण विकास परियोजनाहरू सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि संघीय सरकारसँग पहल गर्ने उनले बताए । विशेषगरी धनगढी–खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक निर्माणलाई तीव्र गतिमा अघि बढाउन पहल गर्ने उनको भनाइ थियो । लामो समयदेखि प्रतीक्षामा रहेका ठूला विकास परियोजनाहरू कार्यान्वयनमा ल्याउन आफू सक्रिय रूपमा लाग्ने पनि उनले बताए ।
उनले सुदूरपश्चिमको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा विगतभन्दा बढी बजेट ल्याउने गरी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै प्रदेशको समृद्धि र जनताको जीवनस्तर सुधारका लागि आफ्नो कार्यकाललाई परिणाममुखी बनाउने लक्ष्य रहेको पनि बताए ।